काठमाडौं, मंसिर १४ : सांसदहरुले वंश भनेर छोरा वा पुरुषलाई मात्र लिइने प्रचलन रहेको भन्दै विरोध जनाए । शुक्रबार संसदको राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गर्न बसेको संसदको बठैकमा वंश रुपमा पुरुषलाई मात्रै लिएको भान्दै विरोध जनाएको हो ।
संविधानले नै महिला र पुरुषलाई विभेद गरेको दावी गर्दै सांसद बिन्दा पाण्डेले प्रश्न गरिन् ‘वंशज भनेको के हो ? वंश भनेको पुरुष मात्रै हो कि महिला पनि हो ?, वंशज कसलाई मान्ने ? त्यसकारण वंशजको परिभाषामा प्रष्टताको खाँचो छ ।’
उनले संविधानका विभेदकारी प्रावधान सच्याउनुपर्ने बताइन् । संविधानको धारा ११ को एक को ख, धारा ३८ को एक र धारा ३८ को ५ आपसमा मेल नखाने खालको रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको माग छ ।
अर्की सांसद यशोदा गुरुङ सुवेदीले नागरिकतासम्बन्धी वर्तमान ब्यवस्थाले असमानताको पराकाष्टा महसुस गराएको बताइन् । ‘नागरिकतामै विभेद भयो भने समानता कहाँ खोज्ने ?’ उनले भनिन् ‘एकाथरीले विदेशीसँग बिहे गरे, बिहे गरेर आउने ब्यक्तिलाई तुरुन्तै नागरिकता दिन्छ अर्काथरीलाई दिइँदैन । यो ठीक भएन ।’
नागरिकताका सन्दर्भमा नेपालको नीति द्वैध रहेको भन्दै उनले पुरुष र महिलाका निम्ति फरक फरक ब्यवस्था हटाउन माग गरिन् । जन्मको आधारमा नागरिकता पाउने ब्यवस्था, गैरआवसीय नागरिकता दिने ब्यवस्था नरम भएको तर महिलाका हकमा धेरै कडा भएको उनको भनाइ छ ।
सांसद रेखा शर्माले संविधानका प्रगतिशील धाराहरुलाई आधार बनाएर नागरिकता विधेयकमा संशोधन गर्नुपर्ने बताइन् । नागरिकता प्रदान गर्दा लैङ्गि समानता हुनुपर्ने भन्दै उनले बैबाहिक नागरिकताका सन्दर्भमा महिला र पुरुषका निम्ति समान व्यवस्था गर्नुपर्ने माग गरिन् ।
सांसद मीना पाण्डेले बुबाको पहिचान नभएको अवस्थामा पुष्टयाईंसहित स्वघोषणा गर्नुपर्ने प्रावधानले महिलाहरुको आत्मसम्मानमा आँच आउने बताइन् । नागरिकता लिने ब्यक्तिले पनि आफ्नो नागरिकतामा बाबुको पहिचान रहेनछ भन्ने पाउँदा जिन्दगीभर अप्ठेरो महसुस गर्ने भएकाले त्यस्ता प्रावधान हटाउनुपर्नेमा जोड दिइन् ।
सांसद पवित्रा निरौला खरेलले संविधान नै संशोधन नगरी नागरिकतामा रहेको महिला र पुरुषबीचको असमानता हट्न नसक्ने उल्लेख गरिन् ।