काठमाडाैं, असार ३ः संरक्षित वन्यजन्तुको आखेटोपहार बिक्री गर्ने समूहका तीन जनालाई केन्द्रीय अनुसन्धान ब्यूराेकाे टाेलीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ, खानियाबास गाउँपालिकावडा नं.२ झार्लुङका ४८ बर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका वडा नं.६ आरुवोटेका ३९ बर्षीय सुक बहादुर घले र ४१ बर्षीय सुर्य बहादुर घले रहेका छन् ।
काठमाडाैं टोखा नगरपालिका वडा नं. १० गोंगबु एरियामा अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न ल्याएको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट मिति २०७९।०३।०२ गते खटिई गएको प्रहरी टोलीले काठमाडाैं टोखा नगरपालिका वडा नं. १० गोंगबुचोक नजिकै गणेश स्थानबाट गोंगबु चोकतर्फ आउदै गरेको अपरिचित व्यक्तिहरुले शंकास्पद गतिविधि गरेको अवस्थामा उनीलाई कानून बमोजिम तत्काल नियन्त्रणमा लिईएकाे थियाे ।
नियन्त्रण पश्चात् चेकजाँच तथा खानतलासी गर्दा खार्पा तामाङले पिठ्यूमा बोकेको खैरो रंगको झोला खोली हेर्दा सेतो प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई बेरी राखेको अवस्थामा संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला जस्तो देखिने ( टाउकोदेखि पुच्छरसम्म लम्बाई ७ फिट १ इन्च, बिच भागको चौडाई २ फिट १ ईन्च भएको ) आखेटोपहार थान-१ (एक) फेला परेकाले बरामद
गरीएकाे थियाे ।
उक्त संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद बिक्रिमा संलग्न उनीहरुलाई बरामद सामान सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाण्डौं पठाईएको व्यूराेले जानकारी दिएकाे छ ।