संरक्षित क्षेत्रमा फोहर फाल्न खोज्दा चालकपरे प्रहरी कारबाहीमा

रिपोर्ट नेपाल | 2018 Sep 10 | 01:50 pm 2278

काठमाडौँ, भदौ २५: राष्ट्रको गहनाका रुपमा परिचित सम्पदाहरुको सफाई र संरक्षण गर्नुपर्ने अवस्थामा रातिको समय पारेर गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् ।

आइतबार राति तिलगङ्गा–गुह्येश्वरी मार्गबाट बा २ ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए । चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारबाहीका लागि वडा कार्यालयमा बुझाएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताएका छन् ।

फोहर फाल्न खोज्ने सवारी चालकलाई काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयले आगामी दिनमा पशुपति क्षेत्रमा फोहर नफाल्ने शर्तमा पाँच हजार जरिवाना गरेर छोडिदिएको वडा अध्यक्ष दीनेश डङ्गोलले जानकारी दिए । फोहर बबरमहलबाट लगी पशुपति जङ्गलमा फाल्न खोजेका थिए ।

पशुपति जङ्गलको बीचबाट तिलगङ्गा–गुह्येश्वरी मार्ग खुलेपछि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सो क्षेत्रलाई विश्व सम्पदाबाट हटाउने चेतावनी दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.