संरक्षणको पर्खाइमा सुदूरका तालहरू

| 2019 Jan 20 | 08:07 am 1840

अमरगढी, माघ ६ : संरक्षण नहँुदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।

स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका कारण संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका अगुवा अमर बुढामगरले जानकारी दिनुभयो । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको आलिताल गाउँपालिकाले रणनीतिक योजना बनाए पनि स्थानीयवासीको पहलमा श्रमदानबाट तीन किलोमिटर तालसम्म पुग्ने बाटोबाहेक कुनै काम हुन सकेनन्, अलितालका स्थानीयवासी भरत खड्काले बताए।

ताल संरक्षणमा कसैले चासो नदेखाउँदा अहिले आलिताल चारैतिरबाट पुरिन थालेको उनले बताए । आलिताल डडेल्धुरा जिल्लाको सबैभन्दा ठूलो ताल हो । स्थानीय अगुवा तुलाराम बोहराले आलितालको प्रचारप्रसारमा कमी भएकाले पर्यटकीयस्थल आलितालको संरक्षण हुन नसकेको तथा पर्यटक भित्रिन नसकेको गुनासो गरे।

डडेल्धुराको अर्को ठूलो नाइल तालको समयमै संरक्षण नहँुदा पछिल्लो समय अतित्व नै मेटिने भएको स्थानीयवासीको गुनासो छ । हामी ताल नजिक बस्थ्यौँ, ताल वारिबाट हेर्दा पारि देखिँदैनथ्यो, धेरै ठूलो ताल थियो । विस्तारै पहिरोले पुर्दै गएपछि ताल अहिले गर्मीयाममा सुख्खा हुने गरेको छ ।

भित्री मधेश क्षेत्रकै परशुराम–६ स्थित वन्डा तालसमेत हाल सुकिसकेको छ । परशुराम–१ मा पर्ने बोडा तालसमेत सुक्ने अवस्थामा छ । यस्तै बगराकोट गाविसमा पर्ने बगबरकोट ताल संरक्षण अभावमा पुरिँदै गएको छ ।

डडेल्धुरामा र कञ्चनपुरको सीमा क्षेत्रमा रहेका बेतकोट ताल, भिलमिला ताल, डडेल्धुरा डोटी सीमामा पर्ने छतिवन ताल, अछाम जिल्लामा रहेको रामारोशन ताल र बझाङ जिल्ला र दार्चुलाको सिमानामा पर्ने सुर्मासरोवर अहिले संरक्षणको अभावमा तालका अकार घट्न थालेको प्रति स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमका चर्चित घोडाघोडी तालदेखि शुक्लफाँटा आरक्षभित्र रहेको रानी ताल, खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको खप्तड दहलगायतका अधिकांश तालतलैया पुरिन थालेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिममा रहेका मनोरम र रमणीय तालहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने हो भने यहाँका युवा विदेश पलायन हुने अवस्था नआउने डडेल्धुरा उद्योग वाणिज्य सङ्घका महासचिव भोजराजज भट्टले बताए।

व्यवस्थितरुपमा स्थानीय तालहरुको संरक्षण गरी पर्यटन विकासमा जोड दिने हो भने यहाँका युवालाई रोजगारीको अवसर जुट्ने उनले बताए। यस क्षेत्रका ताल क्षेत्रमा सडक विस्तार भइसकेकाले सडकबाट १५ मिनेटदेखि तीन घण्टासम्म पैँदल दूरीमा पर्दछन् । ताल संरक्षणका लागि जिल्ला विकास समिति कार्यालय डडेल्धुराले कुनै पनि कार्यक्रम नल्याएको स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेयले बताए।

प्रचुर पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिमका पर्यटकीयस्थल ताल, धार्मिकस्थल र सुदूरपश्चिम क्षेत्रको दार्चुलामा पर्ने अपी हिमाल र बझाङ जिल्लामा पर्ने साइपाल हिमालसमेत ओझेलमा परेका देखिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.