संयुक्त बैठक अवरोध गर्दैनौं, संसदको अन्य बैठक चल्न दिदैनौं- कांग्रेस

| 2024 May 14 | 12:41 pm 377

काठमाडौँ १ जेठ/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा अवरोध नगर्ने निर्णय गर्दै त्यसपछि बस्ने कुनै पनि बैठक सहज ढंगले सञ्चालन नहुने निर्णय गरेको छ । संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले यस्तो जानकारी गराएका हुन् ।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

“बचतकर्ताको रकम रक्षा गर्ने र फिर्ता गर्न , संलग्नलाई कडा कारबाही गर्न हामीले माग गरेका छौँ सचेतक लेखकलेभने, यो दुरूपयोगमा गृहमन्त्री रवि लामिछाने संलग्न छन् । समिति बनाएर छानबिन गर्नुपर्ने हाम्रो माग छ ।  यत्रो रकम ठगी हुँदा सरकार चुप लाग्दा विरोध गरेका छौं । समिति गठन माग गरेका छौं ।” सदन बैठक नचलेर उत्पन्न हुने परिणामप्रति सरकार जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपतिको गरिमा र मर्यादालाई ख्याद गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम भने सदनमा प्रस्तुत हुन दिने निर्णय गरेको छ । यसपछि सदन अवरुद्ध गर्ने उनले जानकारी दिए । “ राष्ट्रपतिको गरिमा मर्यादा र यो व्यवस्था हेरेर आज राष्ट्रपतिले सम्बोधन गर्ने संयुक्त बैठकमा भाग लिन्छौं, अवरोध हुँदैन । त्यसपश्चात् कुनै पनि बैठकमा कांग्रेस सहभागी हुँदैन । अब सरकारका कुनै पनि कार्यसूचीमा प्रवेश हुँदैनौँ,” प्रमुख सचेतक लेखेकले भने ।

आफूहरुको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको उनको आरोप छ । सहकारीको बचत ठगी हुँदा सरकार चुप लागेको बसेको भन्दै उनले छानबिनका लागि संसदीय समिति बनाउनुपर्नेमा जोड दिए । साथै सदनका आगामी बैठकमा गिरीबन्धु टि–इस्टेटको विषय अध्ययन गरेर उठाउने उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.