काठमाडौँ, मंसिर २४ : संघीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा प्रदेश अन्तर परिषद् बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ ले आज सोमबार आयोजना गरेको नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले गुल्मी जिल्लालाई दुईवटा राजमार्गले जोड्न लागिएको जानकारी दिए ।
मन्त्री ज्ञवालीका अनुसार मदन भण्डारी राजमार्ग र कालीगण्डकी कोरिडोरले गुल्मीलाई जोड्ने र रेसुङ्गा विमानस्थलमा यसै वर्षदेखि स्थायी रुपमा उडानको व्यवस्था हुने कुरा उनले बताए ।
जिल्लाका रुरु, रेसुङ्गा र सत्यवतीलाई पर्यटकीयस्थलका रुपमा सरकारले घोषणा गरेकाले धार्मिक पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने मन्त्री ज्ञवालीको भनाइ थियो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय कमलराज श्रेष्ठ र दिनेशकुमार पन्थीले रुरु रिडी क्षेत्रको गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको जानकारी दिए ।