बागलुङ, असार १ : राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर के.सीले संघीयता ल्याउनेहरुलाई अहिले पछुतो लागेको बताएका छन् । प्रगतिशील पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा के.सीले यस्तो बताएका हुन् ।
विदेशीहरूलाई खुसी पार्न ल्याइएको संघीयता नटिक्ने दाबी समेत गरे । उनले भने – ‘नेपाल जस्तो मुलुकमा जहाँ आर्थिक, भौगोलिक तथा विदेशी चलखेल हुने ठाउँमा संघियता सफल हुन सक्दैन ‘ ।
आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले ल्याएको बजेट समाजवाद उन्मुख नभएको भन्दै कृषि, भूमिसुधार, राष्ट्रिय उद्योग लगायतका नीति नियम राम्रो नभएको बताए । चुनावमा प्रतिपर्धा गर्दा उठाएका कुरालाई पनि सरकारले सम्बोधन नगरेको बताउँदै केसीले गर्न नसक्ने कामको कुरा पनि गर्न नहुने बताए ।
अहिलेको सरकार महंगीलाई नियन्त्रण गर्न सफल नभएको भन्दै स्थानीय सरकार सञ्चालन गर्न पनि सरकार सबल नभएको दाबी समेत गरेका छन् ।