संघीयतामा प्रहरीमाथि चुनौती थपिएको छ : प्रहरी प्रवक्ता

रिपोर्ट नेपाल | 2019 Jan 08 | 07:22 pm 1854

धनुषा, पुस २४ : प्रहरी प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले मुलुकमा ३ तहको सरकार रहेका बेला दुई तहको मात्रै प्रहरी निकाय भएकोले प्रहरीमाथि थप चुनौती थपिएको बताएका छन् । मंगलबार जनकपुरमा स्थानीय तह, नागरिक समाज र विभिन्न संघ–संस्थाहरुको उपस्थितीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रवक्ता सुवेदीले संघीयताअनुसार संघीय प्रहरी र प्रदेश प्रहरीको अवधारणाअनुसारनै नेपाल प्रहरी अघि बढ्ने हुनाले संघीय प्रहरीले नै तत्कालका लागि सबै तह र समुदायको सुरक्षा गर्नुपर्ने चूनौती रहेको बताए । उनले एकिकृत सुुरक्षा प्रणालीको आवश्यकता रहेको पनि बताए ।

समाजमा रहेका विभिन्न खालका अपराध र अपराधीलाई प्रहरीले नियन्त्रण गरेपनि समाजमा अपराधको दायरा बढिरहेको बताउँदै सुवेदीले समाजिक विकृतिका कारण अपराध बढेको दाबी गरे । उनले भने, ‘पेसेवर अपराध भन्दा समाजिक सञ्जालबाट हुने अपराध बढेको देखिन्छ । सामाजिक सञ्जालमा नाटकीय प्रेम गर्नेदेखि हत्यासम्मका घटनाहरु बढिरहेका छन् ।’ समाजमा घरेलु हिंसा, महिलामाथि हुने विभेद, बालविवाहदेखि बलात्कारका घटनामा सम्म बृद्धि भएको बताए । समाजमा अधिकांश १५ वर्ष मुनिका बालबालिकाहरुमाथि बलात्कारका घटनाहरु बढेको दाबी गर्दै त्यस्ता अधिकांश घटनामा आफन्तजन, छरछिमेक र साथीहरुबाट नै असुरक्षित देखिएको उनले प्रस्ट पारे ।

प्रवक्ता सुवेदीले देशमा वर्षेनी दुर्घटनाबाट २ हजार ५ सयभन्दा बढीको मृत्यु हुने गरेको तथ्याँक सुनाए । कार्यक्रममा नागरिक समाजका तर्फबाट मुरली मनोहर मिश्रले धार्मिक पर्यटकीय नगरी जनकपुर नगरभित्र रहेका होटेलहरुमा मासु र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए । त्यस्तै स्वामी भरत साहले प्रहरी र समुदायले हातेमालो गरेर समाजमा बेरोजगार हटाउन सकिने बताए । उनले यसो गर्न सकेमा समाजमा बढेको विकृतिहरुमा कमी आउने बताए ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, प्रहरी उपरिक्षक गोविन्द थपलिया, प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी उपरिक्षक सविन प्रधान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.