श्रीमानले श्रीमतीको नामबाट नागरिकता लिन पनि हुन्छः उपमेयर खड्गी

रिपोर्ट नेपाल | 2020 Jan 25 | 07:18 am 1630

काठमाडौं, माघ ११: काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिलाको अपमानको अन्त्य गर्न ५० प्रतिशत महिला अबको निर्वाचनमा प्रमुखको रुपमा आउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले काठमाडौंमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै काठमाडौं महानरपालिकाकी उपमेयर खड्गीले स्थानीय तहका उपप्रमुखलाई केही अधिकार दिइए पनि त्यो पर्याप्त नभएको बताए । उनले महानगरको प्रमुखको अपमानमा बसेर काम गर्न निकै कठिनाई हुने गरेको समेत बताए ।

अहिले धेरै स्थानीयतहहरुमा प्रमुखहरु पुरुष रहेको र प्रमुखहरुले उपप्रमुखहरुलाई अपमान गर्ने गरेको भन्दै उपमेयर खड्गीले राजनीतिक रुपमा महिला अगाडि नबढेसम्म महिलाको आवाज अगाडि आउन नसक्ने उल्लेख गरे ।

त्यस्तै उनले संविधानले नै आमा वा बुवाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएकाले काठमाडौं महानगरका ३२ वटै वडाका अध्यक्षहरुलाई राखेर प्रशिक्षण दिन आवश्यक रहेकोले छिटै प्रशिक्षणको व्यवस्था गर्न पहल गर्ने बताए । साथै उनले महिलाले श्रीमानको नामबाट नागरिकता लिन हुन्छ भने श्रीमानले श्रीमतीको नामबाट नागरिकता लिन पनि हुने बताए ।
महिलाले पाउने अधिकारबाट वञ्चित नगर्न महिलाहरुलाई पनि महिला अधिकारसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ ।

महिला कानुन र विकास मञ्चले सन् २०१९ मा काठमाडौं जिल्लाबाट मात्र बाबु नभएकाहरु १३ जनालाई कानुनी मुद्दा लडेर नागरिकता प्रदान गरेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले कार्यक्रममा जानकारी दिएका थिए । श्रेष्ठले संस्थाले गत वर्ष सम्पन्न गरेका सामाजिक कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला आयोग, समाज कल्याण परिषद्लगायतका प्रतिनिधिहरुले महिला कानुन र विकास मञ्चले गरेका सामाजिक कामहरुको प्रशंसा गरेको थियो । कार्यक्रमको सभापतित्व महिला कानुन विकास मञ्चकी अध्यक्ष अधिवक्ता मीरा ढुंगानाले गरेकी थिएन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.