रुकुम (पश्चिम), असोज ११ः आफ्नै श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा बाफिकोट गाउँपालिका ९ तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको कारण अमृताले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।
घाइतेलाई उपचरको लागि जिल्ला अस्पताल पठाइएकोमा मेडिकल कलेज कोहलपुर रिफर भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी पाल्पामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका ५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्र बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती किशोरीलाई बिहीबार जबरजस्ती करणी गर्ने अर्का ४२ वर्षीय पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।