शैय्या र अक्सिजनको अभाव नरहेको दाबीका कारण मानिस असुरक्षित अवस्थामा बाहिर निस्किरहे

| 2021 May 09 | 07:44 am 1677

काठमाडौं, बैशाख २६ः सरकारले अस्पतालमा शैय्या र अक्सिजनको अभाव नरहेको दाबी गरेका कारण मानिस असुरक्षित अवस्थामा बाहिर निस्किरहेको एक संक्षिप्त सर्वेक्षणले देखाएको छ । ‘असजिलो पर्दा सेवा लिने अस्पताल भएपछि किन डराउने’ भन्ने मानसिकता नागरिकमा देखिएको छ ।‘विवाह जीवनमा एकचोटि गर्ने हो, केही आफन्तलाई त सहभागी गराउनै प-यो’ बनेपामा शनिबार विवाह भोजका सरिक दुलहाका दाजु राजन तिमल्सिनाले भने– ‘सुरक्षाका लागि मास्क त लगाएकै छौं, तर खानेबेला खोल्नैप-यो ।’

कीर्तिपुरको वाग्वानीअगाडि मोटरसाइकल रोकेर सरसल्लाह गरिरहेका जस्ता देखिन्थे, सात जना युवाको झुण्डका सदस्यहरू । ‘बल्खुतिर लागौं, कीर्तिपुर गेटमा प्रहरी छ, समातिहाल्छ, घरमा बसेर बोर भइयो ।’ –मास्क चिउँडोमा लगाएका प्रितम थापा नाम बताउने युवकले भने । नेपाल समाचारपत्रले पाँच संवाददातालाई कोरोना संक्रमण र लकडाउनप्रति नागरिकको धारणा र सचेतना के छ भनेर उनीहरूको निकटका क्षेत्रमा परिचालन गर्दा चावहिलका भ्यान चालकको भनाइ निकै अनौठो भेटियो ।

कृष्ण परियार नाम बताउने उनको भनाइ थियो– ‘कोरोनाको त्रास फैलाउने सबै प्रधानमन्त्री केपी ओलीका विरोधी हुन्, सरकारका मन्त्रीले कोरोना लाग्यो भने अस्पतालमा अक्सिजन जडान गरिएका शैय्या खाली छन् भनिरहेका छन्, हामी बिनाकाम किन डराउने !’

तर, प्रधानमन्त्री ओलीले पनि अवस्था जटिल बनेको संकेत गरेका छन् । उनले शनिबार सीएनएन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आजसम्मको अवस्था नियन्त्रणमा रहेको, कोभिडका बिरामीले उपचार पाइरहेको भए पनि योभन्दा बढी चाप बढेमा आफ्नो स्रोत–साधनले धान्न नसक्ने बताएका छन् ।

यद्यपि प्रधानमन्त्री ओलीका मन्त्रीहरू उनीभन्दा अलि बढी ढुक्क देखिएकै हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो प्रदेशमा शैय्या र अक्सिजनको अभाव नरहेको स्टाटस लेख्छन्, तर प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितले शैय्या नपाएको समाचार आइरहेको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम अक्सिजन र शैय्याको अभाव रहेको बताए । गौतमले शुक्रबार झन्डै ५० जना बिरामी अस्पतालमा आए पनि भर्ना गर्न नसकिएको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.