शैक्षिक मेलाले दुई देशको मित्रतालाई कसिलो बनाउने सभामुख महराको भनाई

| 2019 Apr 21 | 05:06 pm 1965

काठमाडौं, वैशाख ८ : सभामुख कृष्णबहादुर महराले नेपाल चीन शैक्षिक मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्ने बताएका छन् । सभामुख महराले उक्त कुरा चीनीया भाषा शिक्षक संघले आयोजना गरेको नेपाल चीन शैक्षिक मेलाको उद्घाटन गर्दा बताएका हुन् ।

नेपाल चीन बीचको मैत्रीसम्बन्ध वषौं पुरानो भएको बताउँदै दुई देशले सामाजिक, सास्कृतिक, धार्मिक एवम् व्यापारिक हिसावले वषौंदेखि सहकार्य गर्दै आएको बताए ।

(विस्तृत लिखित मन्तव्य तल हेर्नुहोस्)

कार्यक्रमका अध्यक्ष महोदय,
विशिष्ट अतिथि तथा अतिथि महानुभावहरु,
कार्यक्रममा सहभागी सम्पूर्ण चिनियाँ तथा नेपाली मित्रहरु !

१. सर्वप्रथम चिनियाँ भाषा शिक्षक संघले आयोजना गरेको ‘दोश्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला २०७६’ को उद्घाटन गर्ने अवसर दिनुभएकोमा मलाई अत्यन्तै खुशी लागेको छ । मित्र राष्ट्र चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापक र प्रतिनिधिहरुलाई नेपालमा ल्याई नेपाली शिक्षा क्षेत्रसँग अन्तक्र्रिया गर्ने अवसर जुटाइदिएकोमा आयोजक चिनियाँ भाषा शिक्षक संघलाई धन्यवाद दिन चाहन्छु ।

२. नेपाल–चीन शैक्षिक मेलाको शुरुवात हुनु निकै सह्रानीय कार्य हो । यस शैक्षिक मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।

३. नेपाल–चीनबीचको मैत्री सम्बन्ध वर्षौं पुरानो हुनुका साथै निकै प्रगाढ र आत्मीय रहेको छ । विशेष गरी दुई देशले सामाजिक, सांस्कृतिक, धार्मिक एवं व्यापारिक हिसाबले वर्षौंदेखि नजिकबाट सहकार्य गर्दै आएका छन् ।

४. दुई देशबीचको घनिष्ठ सम्बन्ध र नजिकको सहकार्य हुँदाहुँदै भाषाको समस्याका कारण जनस्तरसम्म आपसमा शिक्षा, संस्कृति र अन्य क्षेत्रको अनुभव आदान प्रदानमा केही कठिनाइ हुने गरेको देखिन्छ । दुई देशबीचको भाषिक समस्यालाई समाधान गर्न यस्ता शैक्षिक मेलाहरु सहयोगी हुन सक्छन् । पछिल्लो समयमा नेपाली नागरिकहरुमा देखिएको चिनियाँ भाषा सिक्ने उत्सुकता र चिनियाँ नागरिकहरुले नेपाली भाषा सिक्न गरेको प्रयासले दुई देशबीच देखिएको भाषागत खाडल पुरिदै जानेछ भन्ने मैले विश्वास लिएको छु ।

५. चीनले विश्वलाई नजिकबाट जोड्न शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपाल पनि सहभागी हुन अवसर पाएको छ । विश्वलाई एक साथ विकास गरेर लैजानुपर्छ भन्ने भावनासहित शुरु गरिएको वेल्ट एण्ड रोड एनिसिएटिभले विकासोन्मुख देशहरुलाई समेट्दै विकासका पूर्वाधारहरु निर्माण गरिरहेको छ । हामीले यो इनिसिएटिभ अन्तर्गत आगामी दिनमा विशेष गरी अन्तरदेशीय कनेक्टिभिटी, पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, शिक्षालगायतका क्षेत्रमा सहकार्य गर्न सक्ने थुप्रै सम्भावना रहेका छन् ।

६. चीनले पछिल्लो समय गरेको चमत्कारिक विकासले विश्वलाई नै नयाँ सन्देश दिइरहेको छ । चीनको त्यो अभूतपूर्व विकासका पछाडि त्यहाँका विश्वविद्यालयहरु र शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका रहेको छ भन्ने मलाई लाग्छ ।
समग्र विकाससँगै चीनले शिक्षा क्षेत्रमा धेरै राम्रो प्रगति गरिसकेको छ । चीनले गरेको त्यो प्रगति नेपालको लागि अनुकरणीय छ । चीनको इञ्जिनियरिङ शिक्षा विश्वकै उत्कृष्ट मध्येमा पर्दछ । चीनले प्राविधिक शिक्षाको क्षेत्रमा गरेको प्रगति र विकासबाट नेपालले धेरै फाइदा लिन सक्छ । आगामी दिनमा नेपाल र चिनियाँ विश्वविद्यालयहरुले सहकार्य गरी प्राविधिक शिक्षाबाट दीक्षित जनशक्ति उत्पादन गरी दुवै देशको हितमा काम गर्ने वातावरण बनाउन सक्छन् । त्यसतर्फ दुवै देशका सरकार र नेतृत्वले गम्भीर भएर सोच्न जरुरी छ ।

७. हामी विकासका पूर्वाधार निर्माण गर्नुपर्ने अवस्थामा छौं तर हामीकहाँ प्रशस्त इञ्जिनियरहरु छैनन् । यस्तो अन्तरविरोधलाई हल गर्न नेपाली विद्यार्थीहरुलाई चीनका विश्वविद्यालयहरुमा पढ्न पठाउन सक्छौं । उसो त अधिकांश चिनियाँ विश्वविद्यालयहरुले छात्रवृत्तिको व्यवस्था पनि गरिरहेका छन् । हामीले नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति नेपाली नागरिकहरु नै तयार गर्न सक्यौं भने पनि हाम्रो लागि ठूलो उपलब्धि हुनेछ ।

८. मैले सुनेको छु– चिनियाँ नागरिकहरु पनि नेपालमा आयुर्वेद, हिन्दू तथा बौद्ध दर्शन, योग विज्ञान लगायतका विषय पढ्न इच्छुक छन् । हाम्रो नेपाली पहिचान र सम्पत्तिका रुपमा रहेका दर्शन र शिक्षा विदेशीहरुले पनि सहजै अध्ययन गर्न सक्ने गरी पाठ्यक्रम बनाउन जरुरी छ । आवश्यकता अनुसार परिमार्जन तथा विभिन्न भाषामा पाठ्यक्रम तयार गरेर नेपालकै विश्वविद्यालयमा विदेशीले पढ्न बस्न सक्ने वातावरण बनाएर नेपालमा शैक्षिक पर्यटनलाई पनि बिस्तार गर्न सकिन्छ । यसतर्फ पनि नेपालका सरोकारवाला निकायले ध्यान दिन म आग्रह गर्दछु ।

९. नेपाल–चीनबीचको शैक्षिक तथा भाषिक सहकार्यलाई नजिक बनाउन, आपसी सम्बन्धलाई थप बलियो बनाउन, जनस्तरको सम्बन्धलाई झनै मजबुत र प्रभावकारी बनाउन यो शैक्षिक मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यस्तै, नेपाली नागरिकलाई चिनियाँ भाषा अध्ययनतर्फ चाख बढाउन र चिनियाँ नागरिकलाई नेपाली भाषा सिक्न प्रेरित गर्न पनि यो मेला सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

१०. अन्त्यमा, नेपाल–चीन शैक्षिक मेला पूर्ण सफलताको कामना गर्दै यस ऐतिहासिक कार्यक्रमको उद्घाटन गर्ने मौका दिनुभएकोमा चिनियाँ भाषा शिक्षक संघलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यो मेलाको सन्दर्भमा चीनका विभिन्न विश्वविद्यालयबाट नेपालका आउनुभएका प्राध्यापक तथा प्रतिनिधिहरुको नेपाल बसाइ अविस्मरणीय रहोस् भन्ने कामनासहित मेरो मन्तव्य टुङ्ग्याउँछु । धन्यवाद !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.