शेयर बजार: सातामा एक अर्ब पनि पुगेन कारोबार

रिपोर्ट नेपाल | 2018 Sep 01 | 04:46 pm 1555

काठमाडौँ, भदौ १६ : धितोपत्र बजारमा यस साता रु ८० करोड ३० लाख सात हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कूल २५ लाख ४२ हजार ७१० कित्ता शेयर खरिद बिक्री भएका छन्।

कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ८१ प्रतिशत कम हो। कारोबारका आधारमा हेर्दा यस साता पनि रु एक अर्ब बराबरको पनि कारोबार हुन सकेन।

गत साता १८५ कम्पनीको ४४ लाख २१ हजार ९५० कित्ता शेयर रु एक अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरका खरिद बिक्री भएका थिए। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलब ९७ अङ्कले बढेर अन्तिम दिन एक हजार १८१ दशमलब ६९ अङ्कमा पुगेको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ३७ अङ्कले बढेर २४९ दशमलब ७९ अङ्कमा आइपुगेको छ। यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड ३९ लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो।

कारोबार भएको शेयर सङ्ख्याको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ३२ हजार कित्ता शेयर खरिद बिक्री भएको थियो। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.