काठमाडौँ २८ चैत / धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १०.७१ अंकले घटेर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से घटेर २०२२.२८ विन्दुमा बन्द भएको हो ।
उत्पादन र व्यापारबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, फाइनान्स, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
सिङ्गटी हाइड्रो इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मान्डु हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ ।
बजार घटेकाे दिन तीन सय आठ वटा कम्पनीको ८६ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो ।