विराटनगर, २४ असार : विराटनगस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसका तीन विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखसहित पाँच जनालाई थुनेका छन् । आइतबार शुल्कवृद्धि गरेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई थुनेको हो ।
क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरू मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार आफ्नै कार्यकक्षमा थुनिदिएका थिए ।
क्याम्पस प्रशासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तिन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरूले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरूलाई थुनेका हुन् । क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म ताल्चा नखोलिने एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता नवीन पहाडीले बताए । ताल्चा बिहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाएको हो ।