शुद्ध पानी संसारको पहिलो र सर्वश्रेष्ठ औषधि हो

रिपोर्ट नेपाल | 2023 Jan 11 | 07:12 pm 233

कृष्ण प्रसाद सापकोटा
पानीका स्रोत संरक्षण प्रति सचेत गराउँदै अग्रज बैज्ञानिक बेन्जामिन फ्य्राङ्कलिनले भनेका थिए– ‘जब अन्तिमा इनार पनि रित्तिनेछ, तब हामीलाई पानीको महत्व थाहा हुनेछ ।’ फ्य्राङ्कलिनको युग भन्दा हजारौं वर्ष अघि लेखिएको पूर्वीय दर्शनले पानीको स्रोत संरक्षणमा सर्वाधिक जोड दिएको पाइन्छ । पानीको महत्व तथा स्रोत संरक्षणबारे बेदमा धेरै कुरा उल्लेख छन् ।

चाहे अन्धविश्वास नै सही पूर्वीय सभ्यताका बासिन्दाहरुमा पानीको विषयमा अनेकथरी मान्यता रहेको पाइन्छ । उदाहरणका लागि पानीमा नाग देवता बस्ने गर्छन्, पानीको स्रोत नजिकै घर बनाउनु हुँदैन भन्ने मान्यता छ । पानीमा दिसापिसाब गरियो भने सिधै पितृहरूको मुखमा पर्छ भन्ने मान्यता छ । त्यसैले पानीमा फोहोर गर्नु हुन्न, पानीको स्रोतलाई दखल दिनु हुन्न भनेर पुर्खाले सिकाए । डरैले पनि पानी सकेसम्म सफा रह्यो । पानीका स्रोतहरु सुरक्षित रहे ।

तर अहिलेको बैज्ञानिक युगमा परम्परागत मान्यताहरु लोप हुन थाले । जनसंख्याको वृद्धि सँगै पानीका स्रोत माथि अतिक्रमण हुन थाल्यो । पानीका मुलहरु क्रमशः सुक्दै जान थाले । पृथ्वीको कुल क्षेत्रफलको लगभग ७० प्रतिशत भाग पानीले भरिएको छ । तर त्यसमध्ये पिउनयोग्य  पानी केवल २ दशमलव ५ प्रतिशत छ । त्यसमध्ये पनि १ प्रतिशत पानीको भण्डार हिमालय पर्वत श्रृंखला क्षेत्रमा छ । समुन्द्रको पानी पिउन योग्य हुँदैन । सिंचाइका लागि पनि योग्य हुँदैन । जमिनमा उपलव्ध पानी नै हो हामीले प्रयोग गर्ने ।

समुन्द्रमा मिसिए पछि सकियो । यति भन्दैमा समुन्द्रको पानीको कम महत्व छ भन्ने होइन । पहिलो कुरा त समुन्द्रको पानी नै बाफ भएर आकाश मार्ग हुँदै जमिनमा स्वच्छ पानी अथवा बरफका रुपमा झर्ने हो । जमिनको जल भण्डारलाई निरन्तरता दिन समुन्द्रको पानीको विशेष महत्व छ । त्यति मात्रै होइन समुन्द्रमा पाइने जीव तथा बनस्पती पृथ्वीका अन्य प्राणीहरुका लागि खानेकुरा समेत हुन् । यसैगरी जलयातायातको विकास तथा पृथ्वीको तापक्रमलाई स्थिर राख्न पनि समुन्द्रको पानीको ठूलो महत्व छ । तर जमिनमा उपलव्ध पानीको महत्व भने विशेष नै छ । जमिनमा उपलब्ध सम्पूर्ण पानी निर्दिष्ट जलचक्रमा घुमिरहेको हुन्छ भन्ने यर्थाथतालाई विर्शनु हुन्न ।

जलचक्र विथोलिना साथ जनजीवन चौपटक हुन्छ । व्यापक औद्योगिकीकरण तथा जनसंख्याको उच्च वृद्धिका कारण एकतिर शुद्ध पानी खपत बढेको छ भने जलचक्रमा भएको गडवडीले शुद्ध पानीको भण्डारणमा लगातार कमी आइरहेको छ । अहिलेको चिन्ताको विषय यही हो । बैज्ञानिक व्यान्जामिन फ्याँकलिनले यही कुरामा उतिबेलै सचेत गराएका हुन् । हाम्रो पूर्वीय दर्शनले पनि उतिबेलै सचेत गराएको हो ।
पछिल्लो समय संसारभर पानीको संकट गहिरिँदै गएको छ । कतिपय देशहरु उब्जाउभूमिमा सिँचाइको अभाव हुन पुग्दा खाद्य संकटको सामना गरिरहेका छन् । टाढा जानै पर्दैन । केही महिना अघि युरोपमा लामो खडेरीका कारण नदी नाला सुके ।

सुख्खाका कारण खेतिबाली लगाउने कुरा त परै जाओस्, पानी पिउन समेत नपाएर धेरै जंगली तथा घरपालुवा जनावर मरे । चराचुरुङ्गीहरु समेत मरे । लामो खडेरी पछि एक्कासी अतिवृष्टि भयो । जसले थप क्षति गरायो । अतिवृष्टि हुनु भनेको प्राकृतिक प्रकोप त हुँदै हो , शुद्ध पानी खेर जानु हो ।
पानीको संरक्षण किन र कसरी गर्ने ? भन्ने विषयमा हाम्रा पुर्खाहरुले लिखित ग्रन्थ छाडेर गए पनि हामीले लापरवाही गरेकै कारण संकट निम्तिँदै गएको हो । पहिला पहिला पानीको मुल नजीक घर बनाउनु हुन्न , नाग देवता रिसाउँछन् भन्ने डर थियो , तर अहिले पानीको मुल भएकै ठाउँमा बहुतले भवन बनाउन थालिएको छ । उद्योग, कलकारखाना खोल्न थालिएको छ । यो समस्या अन्य विकसित भनिएका देश तथा छिमेकी भारतमा मात्र होइन, हाम्रै मुलुकमा पनि उत्तिकै भयावह बन्दै गएको छ ।

उदाहरणका लागि राजधानी उपत्याका भित्रका खोला तथा नदीलाई हेरे पुग्छ । काठमाडौंको मुटुमा रहेको वाग्मती नदीलाई हेर्दा पुग्छ । वाग्मतीको पानी मान्छेले पिउने त परको कुरा पशु वा चराचुरुङ्गीले पनि पिउँदैनन्, त्यहाँ डुबुल्की लाउँदैनन् । वाग्मती एउटा नदीमात्र होइन, एउटा प्रख्यात मानव सभ्यता पनि हो । मानव सभ्यता पानी स्रोत छेउछाउबाटै सुरु भएको हो । अधिकांश बस्ती नदी आसपास मात्रै होइन, संसारका सबै ठूला सहर नदी आसपासमै छन् । न्युयोर्क, दिल्ली, संघाई, बैंकक, हङकङ मात्रै होइन संसारका सबै सहर पानीकै नजिक छन् । मानव सभ्यता नदी आसपासबाटै भएको हो । काठमाडौं उपत्याकाको बस्ती चोभारको डाँडो काटी पानी बाहिर बगाएर बसालिएको हो ।

पछिल्लो अध्ययनले छिमेकी भारतमा पानीको अवस्था भयावह देखाएको छ । भारतमा सन् २०२० देखि नै जल संकट सुरु भएको हो । अबको एक दशक भित्र भारतमा करिब १० करोड मानिसले पानीको कहर भोग्नुपर्ने प्रक्षेपण गरिएको छ । । २०३० सम्ममा भारतमा पानीको माग उपलब्ध पानी वितरणको दुईगुना हुने र देशको जीडीपीमा ६ प्रतिशतको गिरावट पानीकै कारण आउने प्रक्षेपण गरिएको छ । यो संकटलाई मध्यनजर गर्दै भारतले पानीको राजनीति सुरु गरिसकेको छ । नारा जे जस्तो दिए पनि भारतले कश्मीरलाई पूर्ण नियन्त्रणमा लिएको पानीकै लागि हो । कश्मीर हुँदै पाकिस्तानमा बग्ने नदीहरुलाई भारतले धमाधम आफ्नो भुभागतिर फर्काउँदै छ ।

अर्को तर्फ चीनको तिब्बतबाट भारत र बंगलादेश हुँदै हिन्द महासागरमा मिसिने बह्मपुत्र नदी माथि पनि त्यसरी नै राजनीति सुरु भएको छ । ब्रह्मपुत्र नदीको अधिकांश पानी चीनले आफ्नो मुख्य भूमितिर ‘डाइभर्सन’ गरिसकेको छ । तिब्बतबाट नेपाल हुँदै भारत पुुग्ने नदीहरुको संख्या पनि उल्लेख्य छ । पानीको संकट गहिरिँदै जाँदा चीनले यी नदीहरु प्नि आफ्नो मुख्यभूमितिर फर्काउने संभावनालाई नजर अन्दाज गर्न सकिन्न । भारतमात्र होइन, संसारका थुप्रै देशले अब पानी राजनीति गर्नेछन् । धनी देशले अहिले जसरी नै पानीमा आफ्नो अधीन कायम गर्ने प्रयास गर्नेछन्, जसरी तेल राजनीति मौलाएको छ ।

हामीसँगै टाँसिएको मुलुक भारतमा अब पानीको व्यवस्थापनले नै निर्वाचनमा जित–हारको भूमिका निर्वाह गर्ने बेला भइसकेको छ । सौभाग्यबस नेपालले अझै एक डेढ शताव्दी सम्म पानीको उच्च संकट बोहोर्नु नपर्ने अवस्था छ । तर भारतको पानी संकटले नेपाललाई तरंगित बनाउने निश्चित छ । किनकी भारतले धमाधम नेपालका नदीहरु ओगट्न थालेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएको छ । हिमाली पर्वतहरु काला पथ्थर जस्ता देखि थालेका छन् ।

जसका कारण नदीहरुमा पानीको मात्रा निरन्तर घटिरेको छ । जसरी हरियो वन नेपालको धन भन्ने कुरा अहिले एकादेशको कथा बनेको छ , कृषि प्रधान देश नेपाल भन्ने कुरा पनि अहिले एकादेशको कथा बनेको छ , त्यसरी नै ‘जलस्रोतमा धनी मुलुक नेपाल’ भन्ने ‘स्लोगन’ पनि एकदेशको कथा बन्ने त होइन ? भन्ने चिन्ता थपिएको छ । जलवायु परिवर्तनको समस्यालाई निरानकरण गर्न नेपाल सरकार असफल हुँदै आएको छ ।

एसियाको सम्भ्रान्त सहर सिंगापुरमा पानीको आफ्नो स्रोत छैन । समुद्रपारि मलेसियाबाट पाइपबाट पानी आपूर्ति हुन्छ, तर सडकधाराकै पानी खुल्ला भएर पनि पिउनयोग्य छ । आन्तरिक खपत भएको पानीलाई ट्रिटमेन्ट गर्छन् र पुनप्र्रयोग पनि। कुरो प्रविधिको हो, कुरो सोच र आवश्यकताको पनि । आउने वाला संकट त आफ्नो ठाउँमा छँदैछ , अहिलेसम्म त पिउने पानीको स्रोतका दृष्टिले नेपाल विश्वका सबै भन्दा अब्बल देशहरु मध्ये पर्छ । किनकी हामीकहाँ ब्राजिलपछिको विश्वकै पानी धेरै भएको अवस्था हो ।

तर उचित व्यवस्थापनको अभावमा जनताहरुले काकाकुलको नियति बेहोरिइरहेका छन् । राजधानी काठमाडौं सहरमै पिउने पानीको ठूलो अभाव छ । उपत्याकाका नदीहरुमा पानी होइन, ढल मात्र बग्छन् । दूरदराजका ग्रामिण क्षेत्रको त के कुरा गर्नु ? राजधानी काठमाडौं भन्दा केही किलोमिटर पश्चिममा पर्ने धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँ पालिकाका बस्तीहरुलाई नै हेरौं न । धादिङको बेनीघाट रोराङ गाउँपालिका– २, ब्रुसवाङका चेपाङ समुदाय पानीकै अभावका कारण वर्षाैँदेखि बस्ती स्थानान्तरणको पर्खाइमा छन् ।

खानेपानीका पुराना मुलहरु सुकिसके । ब्रुसवाङकी फूलमाया चेपाङ मिर्मिरे उज्यालोमै पँधेरो पुग्छिन् । बिहान तीन बजे घरबाट हिँड्ने उनी पानी लिएर घर फर्कँदा सात बज्छ । बस्तीनजिक पानी–पँधेरो छैन । डाँडै काटेर जानुपर्छ । एक गाग्री पानी लिन हिँड्न सक्नेलाई तीन घन्टा लाग्छ । ब्रुसबाङ त एउटा उदाहरण मात्रै हो , पानीका मुलहरु सुक्न थालेका कारण नेपालको पहाडी भेगका कयौं गाउँहरु रित्तिइसकेका छन् ।
जलवायु परिवर्तनको असर त हुँदै हो । सरकारकै कमजोरीका कारण पनि पहाडका गाउँ बस्ती रित्तिएका हुन् ।

राज्यले चाह्यो भने के हुँदैन भन्ने उदाहरण सिंङ्गापुरले देखाई सकेको छ । सिंगापुरमा पानीको आफ्नो स्रोत छैन । समुद्रपारि मलेसियाबाट पाइपबाट पानी आपूर्ति हुन्छ, तर सडकका धाराकै पानी खुल्ला भएर पनि पिउनयोग्य छ । आन्तरिक खपत भएको पानीलाई ट्रिटमेन्ट गर्छन् र पुनप्र्रयोग पनि । कुरो प्रविधिको हो, कुरो सोच र आवश्यकताको पनि । तर नेपालका नेताहरु भाषण गर्दै मुलुकलाई सिंगापुर बनाइ दिने भन्छन् । कुरो बुझेर भनेका होलान की नबुझी ?

नेपालमा क्रमिक रुपमा पानीको संकट बढ्न थालिसकेको छ । तर राज्य संयन्त्रमा रहनेहरु गम्भीर देखिएका छैनन् । जहाँजहाँ जल र जंल छन्, ती ती क्षेत्रमा नै भौतिक पूर्वाधार निर्माणलाई जोड दिइएको छ । भौतिक पुर्वाधार निर्माणले जलभण्डारलाई के कसरी रित्याँछ ? भन्ने पाठ सरकारमा रहनेहरुले सिक्न सकेको देखिन्न । उदाहरणका लागि काठमाडौं उपत्याकाको जलभण्डारका रुपमा रहेको चन्द्रागिरीको जंगल मासेर पर्यटकीय बजार बनाइ सकिएको छ । अर्को जलभण्डार शिवपुरीवरपरका विभिन्न स्थानमा केबलकार चलाउने व्यापारीहरुको योजनालाई सरकारले स्वीकृत दिएको छ । बढीभन्दा बढी जङ्गल भएका क्षेत्रमा कि त विमानस्थल कि त ठूला परियोजना सरकारले अघि सारेको छ । उदाहरणका लागि निजगढ विमानस्थल योजनालाई नै लिउँ ।

१० वर्गकिलोमिटर क्षेत्रफलमा विश्वकै ठूलो विमानस्थल बनाउन सकिने अवस्था हुँदा हुँदै निजगढमा विमान स्थल बनाउन ८८ वर्गकिलोमिटर क्षेत्रफलको जंगल मास्न लागिएको छ । यसको अर्थ राज्यको नीति निर्माण तथा निर्णायक तहमा रहनेहरुलाई निकट भविष्यमै पर्न सक्ने जल संकटबारे किञ्चित पनि चासो छैन । नयाँ बिरुवा रोप्ने भन्ने कुरा त सरकारका लागि उही वृक्षरोपण दिवसका दिनमात्रै गर्ने काम बन्न पुगेको छ ।

एक चौथाइ नेपाली जनता गरिबीको रेखामुनि बाँचिरहेका छन् र तिनले भोग्दै आएका विभिन्न समस्यामध्ये एउटा पानी संकट पनि हो । सिंचाइकै अभावका कारण किसानहरु गरिव हुँदै गएका छन् । नेपालमा जल प्रदुषण पनि ठूलो समस्या बन्दै गएको छ । सरकारी आँकडाले ८० प्रतिशत जनता पानीको पहुँचमा रहेको देखाए पनि पिउने पानीको हाहाकार अब दैनन्दिन समस्या बनेको छ । एक गाग्री पानी लिनका लागि घण्टौं हिँड्नुपर्ने कतिपय पहाडी भेगका हाम्रा समस्या ज्युँकात्युँ छन् ।

तराईका कतिपय भूभागका जनता बाध्यकारी आर्सेनिकयुक्त पानीको प्रयोगले रोगी बन्दै गएका छन् । हेक्का के राख्नुपर्छ भने, अहिले पनि हरेक वर्ष देशका ४० हजारभन्दा बढी (पाँच वर्षमुनिका) बालबालिका पानीजन्य रोगका कारण मृत्युको मुखमा पुगिरहेका छन् । यही कारण भनिएको हुनुपर्छ– ‘शुद्ध पानी संसारको पहिलो र सर्वश्रेष्ठ औषधि हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.