काठमाडौं, फागुन १६ : यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने भएका छन् ।
बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने खोला नजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सवार सातै जनाको निधन भएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । साथै शनिबारदेखि आफ्ना सबै उडान नियमित रूपमा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ । उडान बन्द हुँदा यात्रुमा पर्ने असरप्रति कम्पनी क्षमाप्रार्थी रहेको पनि जनाएको छ ।
दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।