शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै

| 2020 Dec 19 | 08:12 am 2213

काठमाडौं, पुस ४ः नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्‍याएका योदानको स्मरणमा आज उनको जन्मजयन्ती मनाइँदैछ ।

विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्लामा पिता लक्ष्मीनारायण र माता रुक्मिणी अधिकारीको पुत्रकारुपमा जन्मिएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाएका थिए । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ ।

त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चीजबीजको सहज आपूर्ति थिएन । किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाए । यसले भोजपुर र सङ्खुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो ।

त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवन यापनमा सजिलो भयो । षडानन्दले बगैंचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाए ।

त्यसक्षेत्रका वनजङ्गलमा प्रशस्त हुने रुद्राक्षलाई उनले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गरे । यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ जसले अर्थोपार्जनमा सहयोग गरेको छ । १५० वर्षअघिदेखि वन संरक्षण शुरु गरेकैले यस क्षेत्रको पर्यावरण सुधारमा योगदान गरेको दिङ्ला पुर्ख्याैली थलो भएका दयाकृष्ण न्यौपाने बताउछन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.