काठमाडाैं, भदाै ९ः सर्वाजनिक शिक्षा सुधार अभियानमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले दलगत आवद्धता त्याग्न निर्देशन दिएका छन्। सर्वाजनिक शिक्षा सुधारको सवालमा शिक्षक कर्मचारी विद्यालय र विद्यार्थीप्रति इमानदार भई नितान्त शिक्षण सिकाइमा लाग्नुपर्ने आजको आवश्यकता महसुस गरी मेयर बालेनले दलको सदस्यता नत्याग्ने शिक्षक कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
शिक्षा ऐन, राजनीतिक दल दर्तासम्बन्धी ऐन र महागनरपालिका कर्मचारी सेवा ऐनमा समेत पहिलेदेखि नै सार्वजकि पद धारण गरेका शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको र सोही कानुन पालना गराउने सन्दर्भमा निर्देशन जारी गरेको उनले बताएका छन्। उनले निर्देशन जारी गर्दै काठमाडौं महानगरपालिकाअन्र्तगतका शिक्षक तथा कर्मचारीलाई दलीय आवद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता समेत नलिन आग्रह गरेका छन्। उनले कुनै शिक्षक वा कर्मचारीले कुनै दलको सदस्यको रूपमा राजनीतिक आवद्धता कायम राखेको भएमा त्यस्तो आवद्धता तत्काल त्याग्न पनि निर्देशन दिएका छन्। शिक्षा ऐन २०२८ को आठौं संशोधनको दफा १६ को (ङ)को उपदफा ५ को खण्ड (छ) मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्थासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७३ असारमा जारी गरेको थियो। यो ऐनले कार्यकारी समिति भनेको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको व्याख्या गरेको छ।
संशोधित शिक्षा ऐन जारी भएको ६ वर्ष बितिसक्दा पनि कुनै पनि शिक्षकले वा कर्मचारीले दलको सदस्यता नत्यागी खुमलखुला दलका महाधिवेशनमा प्रतिनिधि भएरै लागेका थिए। यति मात्र होइन कक्षा छाडेर पनि चुनावी प्रचारप्रसारमा समेत लागेको देखेपछि स्थानीय निर्वाचनका बखत निर्वाचन आयोगले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा वहाल रहेको व्यक्ति तथा कुुनै सार्वजनिक पद धारण गरेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नपाइने निर्देशन जारी गरेको थियो। साथै अयोगले दलले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सदस्यता दिए त्यस्तो दलको सदस्यता खारेजी गर्नेसमेत चेतावनीसहितको निर्देशन जारी गरेको थियो। नागरिक दैनिकबाट