काठमाडौं, कात्तिक ५ : नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महात्मा गान्धीले देखाएको अहिंसा र शान्तिको मार्गबाट मात्र एकता सम्भव हुने बताएका छन् ।
गान्धी पिस फाउन्डेसन, साउथ एसियन फ्राटर्निटी र मिरा फाउण्डेनद्वारा भारतको जोधपुरमा आयोजना गरिएको दक्षिण एसियामा सांस्कृतिक विविधता, शान्ति र न्याय विषयक चार दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दा डा .महतले उक्त कुरा बताएका हुन् ।
दक्षिण एसिया विश्वकै उच्च जनघनत्व भएको र सांस्कृतिक, भाषिक, भौगोलिक विविधता भएको बताउँदै डा.महतले अहिंसा, शान्ति र न्यायपूर्ण व्यवस्थापनबाट मात्र विविधतामा एकता कायम हुनसक्ने र दक्षिण एसियाली देशहरुभित्र पारिवारिक सहयोग र शान्तिपूर्ण तरिकाबाट विवादहरुको समाधान उपयुक्त बाटो हुने धारणा राखेका थिए ।
गोष्ठीमा नेपालमा शान्तिपूर्ण आन्दोलनबाट नै समावेशी लोकतान्त्रिक संविधान जारी भएको जिकिर गर्दै जारी भएको संविधानको कार्यान्वयन गर्न चुनौती रहेको बताएका थिए ।
महात्मा गान्धीले देखाएको अहिंसा र शान्तिको मार्गबाटै विविधताको बीचमा एकता, न्यायपूर्ण शासन र समृद्धि सम्भव हुने पनि महतको कथन थियो ।
उक्त गोष्ठीमा वरिष्ठ गान्धीवादी विचारक सतपाल ग्रोबरलगायत विभिन्न अग्रणी व्यक्तित्वहरुले आफ्नो बिचार राखेका थिए ।
गोष्ठीमा नेवि संघका केन्द्रीय सदस्य तथा यूजी उपाध्यक्ष मदन भण्डारी र ने वि संघ भारतका महामन्त्री सूर्य न्यौपानेले समेत सहभागिता जनाएका थिए ।