काठमाडौं, सुप १ः शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफु मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हालेकाे दुई महिनाको समिक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रीत रहने बताएका छन् ।
समिक्षा बैठकपछि मन्त्रालय मातहतका सबै निकाय र आयोजना प्रमुखसंग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्य योजना सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी अबको कामको शुरुवात गरेका मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमुनाको रुपमा अघि बढाउने बताए ।
मन्त्रीको कार्यभार सम्हालेपछि आफुले अनुगमन गरेका सबै विकास निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न हुने बताए । उनले भने– माघ मशान्तसम्म गोदाबरीको हल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ ।
उनले दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको वेड सहितको कोभिड संक्रमितको उपचार व्यवस्थागर्न लागिएको बताए । मन्त्रीको कार्यभार सम्हालेको भोलीपल्ट मन्त्री श्रेष्ठ वीर अस्पताल पुगेका थिए । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बुदे कार्ययोजना र भावी कार्यक्रमलाई लागु गराएरै छाड्ने बताए। नेपाल समाचारपत्रबाट