शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्‍न अनुमति

रिपोर्ट नेपाल | 2020 Apr 08 | 04:30 pm 1353

काठमाडौं, चैत २६ः थर्मल गन कालोबजारीको अभियोगमा पक्राउ परेका नेपालको चर्चित ब्यापारिक घराना शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्‍न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार अनुमति दिएको छ।

पक्राउ परेका ठूला उद्योगी अग्रवाल कालोबजारीकाे अभियाेगमा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको अपराध महाशाखा टेकुका प्रमुख सहकुल थापाले बताए । उनलाई प्रहरीले सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ५ बमोजिम कारबाही हुने प्रहरीले बताएको छ ।

बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले डिलर वा एजेन्टलाई ५ वर्ष कैद वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

काठमाडौंका प्रमुख जिल्ला  अधिकारी जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएका हुन्।

काेराेना भाइरस (काेभिड १९) को महामारी फैलिएका वेला स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोप लागेका व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको  छ।

अग्रवाललाई प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत म्याद थपका लागि प्रशासन उपस्थित गराएको थियो। जगदम्बा ग्रुपका सञ्‍चालक अग्रवाललाई महानगरीय अपराध महाशाखाले ३ हजार पर्ने थर्मल गन १६ हजारसम्ममा बेचेको अभियोगमा  पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसरले अग्रवललाई कालोबजारीको कसुरमा हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रशासनसँग अनुमति मागेको थियो।

कोरोना भाइरसको प्रकोपसँगै नेपाली बजारमा अभाव रहेको ज्वरो परीक्षण गर्ने थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा ग्राहक बनेर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.