जनकपुर, कात्तिक २७ः जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका घुमुवा प्रहरी नायब निरीक्षक बैधनाथ दास यतिखेर प्रदेश प्रहरी कार्यालयको क्वाटर गार्ड थुनामा रहेका छन् ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आफूलाई सिंगमको उपनामबाट चिनाउने बैधनाथ दासले प्रहरीका माथिल्ला अधिकृतको नाम भजाउदै रकम उठाउने र नदिनेलाई सताउने गरेको गुनासो प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहकहाँ पुगेको थियो ।
फोनबाट धम्काएर पैसा मागेको रेकर्ड सहित नायब महानिरीक्षक सिंहकहाँ अडियो रेकर्ड लिएर व्यापारी पुगेपछि प्रदेशमा बोलाएर क्वाटर गार्डमा राखिएको छ ।
त्यस्तै प्रहरी महानिरीक्षकको आदेशमा लखेटिएका प्रहरी नायब निरीक्षक रामेश्वर यादव, त्रिभुवन साह खोटाङ र ताप्लेजुङ पुगेपनि उनीहरुसँगै सादा पोशाकमा काम गर्ने हवल्दार श्याम सुन्दर साह, राजमंगल सिंह, बैजु यादव भने माल उठाउनमा व्यस्त छन् ।
दर्जामा हवल्दार मात्रै भएपनि श्याम सुन्दर साहले जिल्लाका एसपीहरुलाई कसलाई लाइन दिन हुने र कसलाई दिन नहुने भन्ने विषयमा सल्लाह दिने गरेको समाचार स्रोत बताउँछ ।
यि चार हवल्दारको दरबन्दी विपद व्यवस्थापनमा भए पनि काम चाही आर्थिक उठानमा भइरहेको बुझिएको छ ।