व्यवसायी आन्दोलित

रिपोर्ट नेपाल | 2022 Dec 31 | 07:32 am 957

बुटवल, पुस १६ः नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजी मार्गदर्शन तथा बैङ्कहरूले बढाएको ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । बुटवलमा क्रियाशील विभिन्न व्यावसायिक सङ्घसंस्थाले आन्दोलनस्वरूप शुक्रबार हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ, उद्योग व्यापार सङ्घ बुटवल, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देही र नेपाल घरबहाल सरोकार सङ्घ रुपन्देहीले संयुक्त रूपमा हस्ताक्षर सङ्कलन कार्यक्रम आयोजना गरेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए। उनका अनुसार यो कार्यक्रम २१ गतेसम्म जारी रहनेछ ।

सङ्कलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत नेपाल राष्ट्र बैङ्कलाई बुझाउने कार्यक्रम रहेको छ । चालू पुँजी मार्गदर्शन तथा बैङ्क तथा वित्तीय संस्थाको अव्यावहारिक नीतिका कारण व्यवसाय गर्नै जटिल अवस्था भएको व्यवसायीले जनाएका छन् । नेपाल राष्ट्र बैङ्कको नीतिकै कारण बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदै जाँदा ऋण तिर्नै नसक्ने अवस्थामा पुगेको आन्दोलनमा सहभागी व्यवसायीको भनाइ छ ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.