काठमाडाैं, पुस १४ः निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ। करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।
अहिले धमाधम धावनमार्ग कालोपत्रेको आधार तयार गरिँदैछ। विमानस्थलमा माटो कटिङ र फिलिङको काम भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धावनमार्ग सबबेसको काम भइसकेको छ। त्यसमाथिबाट हालिने बेस लेयरको काम अन्तिम चरणमा छ । प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले अब केही दिनपछिदेखि सबैभन्दा माथिल्लो भाग कालोपत्रे थालिने बताए। ‘कालोपत्रेका लागि अलकत्रा र आवश्यक सामग्री संकलन भइरहेको छ,’ उनले भने, ‘अलकत्रा भुट्ने एस्फल प्लान्ट ल्याएर जडान गरिएको छ, ९ सय ड्रम अलकत्रा लाग्ने अनुमान गरिएकामा ३ सय ड्रम आइसकेको छ। अरू पनि आउँदैछ।’
इन्जिनियर भट्टराईले स्थायी टर्मिनल भवन नबनुञ्जेलका लागि अस्थायी भवनसमेत बनाइसकिएको बताए । ‘अहिलेको ठेक्कामा ठूलो टर्मिनल भवन परेको छैन, सानो भवन बनाइएको छ,’ उनले भने, ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ।’ पछिल्लो पटक ९ करोड रुपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ, साइड ड्रेन र कार पार्किङलगायतको काम भइरहेको उनले बताए। यो ठेक्काको पनि करिब ७५ प्रतिशत काम सकिएको छ। विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।
विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे हुनेछ। १५ महिनामा काम सक्नेगरी आशिष, आशीर्वाद र स्वामीनारायण जेभीले अहिलेको काम जिम्मा लिएको हो। २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए।
यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन्। ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ। नागरिक दैनिकबाट