वैदेशिक रोजगारीमा लुटैलुट : १० महिनामै ८३ करोड ठगी

| 2018 Jun 12 | 03:26 pm 3385

काठमाडौं, २९ जेठ : सरकारले वैदेशिक रोजगारीलाई नियमन गरिरहेको बताए पनि कामका लागि विदेशिने सर्वसाधरण युवाहरु भने लुटको शिकार बनिरहेका छन् । अहिले पनि युवाहरु वैदेशिक रोजगारीको नाममा ठगिइरहेका छन् ।

चालु आर्थिक वर्षको १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीमा रहेका युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन् । चालु आवको वैशाख मसान्तसम्म एक हजार ७४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता उद्धव रिजालले जानकारी दिएका छन् । उजुरी दिनेको संख्या बढ्दो क्रममा छ ।

विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी पर्ने गरेको रिजाल बताउँछन् । ‘व्यक्तिगत ठगीको तुलनामा म्यानपावर कम्पनीको ठगी कम छ’, उनले भने, ‘म्यानपावरको ठगी पनि विगतभन्दा बढी नै छ ।’ विभागका प्रवक्ता रिजालका अनुसार चालु आर्थिक वर्षको १० महिनामा म्यानपावर कम्पनीले ठगेको भन्दै आठ सय ५५ जना कामदारले उजुरी दिएका छन् । म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारले विभागमा २५ करोड ८४ लाख रुपैयाँको दाबीसहित उजुरी दिएका छन् ।

यसमा वैशाख महिनामा मात्रै म्यानपावर कम्पनीबाट आफूहरू ठगीमा परेको भन्दै ८६ जनाले उजुरी दिएका छन् । यसैगरी पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि निरन्तर बढिरहेका छन् । १० महिनामै व्यक्तिगत ठगीतर्फ आठ सय ८९ उजुरी परेका छन् । व्यक्तिगत ठगीमा परेका कामदारले आफूहरूसँग ५७ करोड ५५ लाख रुपैयाँ ठगी भएको दाबीसहित उजुरी गरेका छन् । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि ठगी गरिरहेका संस्था खारेज गरिसकेका छन् । तर, विभागमा उजुरी दिएकाहरुको उजुरी कसरी कार्यान्वयन हुन्छ र उनीहरुले ठगिएको रकम फिर्ता कहिले पाउँछन् भन्ने कुराको भने निश्चित छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.