वैदेशिक रोजगारीमा जाँदा स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्था खारेजी

रिपोर्ट नेपाल | 2020 Oct 09 | 07:37 am 2525

काठमाडौं, असाेज २३:सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ। नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खारेज गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क)को उपनियम ६ र ७ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५ लाख धरौटी राख्नुपर्छ। २०७६ भदौ १ अघि मन्त्रालयमा सूचीकरण भइसकेका ती स्वास्थ्य संस्थाले तीन महिनाभित्र बाँकी २ लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्न नसकेको मन्त्रालयले जनाएको छ।

निर्धारित समयमा बाँकी धरौटी बुझाउन नसकेको र पेस भएको सफाइसमेत सन्तोषजनक नभएकाले यही असोज २० गतेको मन्त्रीस्तरीय बैठकले खारेज गरेको हो। नियम ४६ बमोजिम विशेषज्ञ समितिको सिफारिसमा खारेज गरिएको सूचनामा उल्लेख छ।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार ३५ वटा स्वास्थ्य संस्था खारेजीको सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। सूचीकरण खारेजीमा परे पनि जम्मा गरेको धरौटी रकम फिर्ता नलिएको भए फिर्ता पाउने जनाइएको छ।

मन्त्रालयका अनुसार बसुन्धाराको ढोरपाटन मेडिकल सेन्टर, गोंगबुको हेल्पिङ हेल्थ मेडिकल सेन्टर, बालाजुको नेपाल जनस्वास्थ्य केन्द्र र कोटेश्वरको सृजनशील हेल्थ केयर खारेजीमा परेका छन्। सिनामंगलको एमभी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, धनगढीको नवजीवन अस्पताल, धरानको मञ्जुश्री पोलिक्लिनक एन्ड डायग्नोस्टिक सेन्टर, सिनामंगलको हेल्थ केयर डाइग्नोस्टिक, पुरानो बानेश्वरको नमुना मेडिकल सेन्टर, इटहरीको कान्तिपुर मेडिकल सेन्टर, कालिमाटीको रिलिफ हेल्थ केयर खारेजीमा परेका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.