वैकल्पिक शक्तिका रूपमा राप्रपा

रिपोर्ट नेपाल | 2019 Jun 23 | 09:15 am 2205

काठमाडाैं, असार ८: वर्तमान राजनीतिक परिस्थिति : ०६२/६३ को जनआन्दोलनपश्चात् परिवर्तन संस्थागत गर्ने क्रममा कायम गरिएका अवधारणा र मार्गचित्रका त्रुटि र कमजोरीका कारण शान्तिप्रक्रिया सुरु भएको १३ वर्षपछि समेत जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । देश अहिले पनि संकटको भुमरीबाट मुक्त हुन सकेको छैन । यसबीच सनातन हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो, राजसंस्थालाई पाखा लगाइयो तथा जातीय विभाजनको संस्थागत बीजारोपण गरियो । शान्तिका निम्ति अपरिहार्य ठहर गर्दै परिवर्तनको महान् उपलब्धिका रूपमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता कार्यान्वयन गरियो । राष्ट्रहितविरुद्धको नागरिकता ऐन लागू गरी लाखौँ विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरियो ।

माओवादीको पुनरुत्थान : १३ वर्ष लामो शान्तिप्रक्रिया टुंगियो भन्दै दुईतिहाइ बहुमतसाथ नेकपाको सरकार गठन भएको वेलामा नयाँ रूप र थप शक्ति सञ्चयसाथ माओवादी विद्रोहको पुनरुत्थान हुन लागेको देखिन्छ । विप्लव नेतृत्वको माओवादीका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि हिंसात्मक शृंखला सतहमा देखिएको छ । सरकारले दमन र निषेधको रणनीति अख्तियार गरे पनि विगतको सशस्त्र हिंसात्मक विद्रोहको अनुभवले यस्तो रणनीति प्रत्युत्पादक हुने स्पष्ट छ ।

गरिबी र बेरोजगारी समस्या : गरिबी र बेरोजगारी वर्तमान अवस्थाको सबैभन्दा विकराल समस्या र चुनौती हो । १३ वर्षको अस्थिर, अराजक र दिशाहीन राजनीतिक संक्रमणकालले यो समस्यालाई व्यापक बनाइदिएको छ । बेरोजगारी समस्याले गर्दा प्रत्येक दिन करिब दुई हजार युवा विदेश पलायन हुन बाध्य छन् । माओवादीले हिंसात्मक विद्रोह सुरु गर्दा करिब १२ हजार युवा वैदेशिक रोजगारीमा थिए । जनतालाई मालिक बनाउने आमूल परिवर्तनको नारा दिएर सुरु गरिएको विद्रोह र राजनीतिक परिवर्तनपछि ०७४/७५ को सरकारी तथ्यांकअनुसार चार लाख ६५ हजार चार सय १५ युवा वैदेशिक रोजगारीमा छन् ।

कमजोर धरातलमा नेपाली अर्थतन्त्र : नेपाली अर्थतन्त्रको धरातल अत्यन्त कमजोर छ । राष्ट्रिय अर्थतन्त्र मुख्य रूपले विप्रेषण, विदेशी ऋण र अनुदानमा आधारित छ । उद्योग, व्यापार र कृषि क्षेत्र फस्टाउन सकेका छैनन् । नेपालको वैदेशिक व्यापार घाटा कहालीलाग्दो छ । सोधनान्तर स्थिति ६८ अर्ब घाटामा पुगेको छ । पुँजीगत विकास खर्च ह्रासोन्मुख छ । बजार संरचनामा सिन्डिकेट प्रथा हाबी भएको छ । यी सबै कमजोर अर्थतन्त्रका संकेत हुन् । पूर्वाधारको क्षेत्रमा केही प्रगति भएको छ । केही चिल्ला सडक, सपिङ मल र बिजनेस कम्प्लेक्स बनेका छन् । तर, दिगो आर्थिक गतिविधिको अभावमा ती संरचनाको लाभप्रद प्रयोग हुनेमा गम्भीर आशंका छ ।

लोकतन्त्रको आवरणमा लुटतन्त्र : जनताद्वारा जनताका निमित्त जनताको सरकार प्रजातन्त्रको मूल मर्म हो । प्रजातन्त्रले प्रत्येक व्यक्तिलाई आत्मोन्नति र समान अवसर प्रदान गर्छ । तर, नेपालमा प्रजातन्त्रको प्रयोग जनताका निम्ति भन्दा पनि केही सीमित व्यक्तिको स्वार्थ र सुविधाका निम्ति हुने गरेको छ । फलस्वरूप सात दशक लामो राजनीतिक यात्रामा अझै स्थायी राजनीतिक व्यवस्था र संविधान निर्माणमा हामी संघर्ष गरिरहेका छौँ । संविधानसभाबाट नयाँ संविधान बनेपछिको निर्वाचनबाट नयाँ सरकार बनेपछि देशमा शान्ति, स्थायित्व र समृद्धि कायम हुने आमजनताको विश्वास थियो । तर, जनताको अपेक्षाविपरीत अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ ।

अहिलेको जस्तो व्यापक र अनियन्त्रित भ्रष्टाचार नेपालमा यसअघि कहिल्यै भएको थिएन । स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचारको जालो र हाँगा जताततै फैलिएको छ । राजनीतिक नेता, उच्च पदस्थ कर्मचारी र व्यापारीको त्रिकोणात्मक ‘फलामे गठबन्धन’ खडा गरी ब्रह्मलुट भइरहेको छ । एनसेलको करछली प्रकरण, नेपाल वायुसेवा निगमको जहाज खरिद काण्ड, सुन तस्करी, बुढी गण्डकी जलविद्युत्, मेलम्ची खानेपानी आयोजनालगायतमा भएको भ्रष्टाचार, सरकारी जग्गा कब्जा गर्ने भूमाफियाको चलखेल, नेपाल ट्रस्टको सम्पत्तिको दुरुपयोग विगत केही वर्षयता भएका लुटका केही उदाहरण हुन् । भ्रष्टाचार यति व्यापक हुँदै जानुमा मुख्य कारण उत्तरदायित्वको अभाव हो । अहिले भ्रष्टाचार गर्नेले कसैसँग डराउनुपर्दैन । अनुसन्धान र कारबाही गर्ने तथा न्याय दिने सबै निकायमा भागबन्डाका आधारमा ‘आफ्ना मान्छे’ नियुक्त गरिएका छन् । साथै, यो ब्रह्मलुटको शृंखलामा सरकार र प्रमुख प्रतिपक्ष दुवैको मिलोमतो छ । देश लुट्ने कार्यमा विचित्रको राष्ट्रिय सहमति बनेको छ ।

वैकल्पिक शक्तिको खोजी गरिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आमजनता आकर्षित भए पनि राप्रपालाई अहिले नै वैकल्पिक शक्तिका रूपमा जनताले स्विकार्ने अवस्था बनिसकेको छैन 

सनातन धर्म तथा संस्कृतिमाथि योजनाबद्ध आक्रमण : ०६२/६३ को जनआन्दोलनमा नेपालको हिन्दुराष्ट्रको पहिचान हटाउने र धर्मनिरपेक्षता कायम गर्ने कसैको माग थिएन । तर, आन्दोलन सकिएको तीन साता नबित्दै षड्यन्त्रपूर्वक विदेशीको दबाब र प्रभावमा नेपालको सनातन हिन्दुराष्ट्रको पहिचानमाथि आक्रमण भयो । ४ जेठ, ०६३ मा पुनस्र्थापित संसद्ले एक घोषणामार्फत हिन्दुराष्ट्र हटाएर ‘धर्मनिरपेक्षता’ लागू गर्ने निर्णय ग¥यो । आन्दोलनको रापताप र माहोलमा धर्मनिरपेक्षताको अर्थ, औचित्य र महतवबारे आमजनताले ठीक ढंगबाट बुझ्न पनि पाएनन् । त्यसबारे बहससमेत हुन सकेन । धर्मनिरपेक्षता कायम गर्नुको असली नियत के रहेछ भन्ने अहिले आएर स्पष्ट हुँदै छ । धर्मनिरपेक्षताको आडमा लोभलालच देखाएर तथा भ्रम सिर्जना गरेर योजनाबद्ध र संगठित रूपमा सनातन धर्म (हिन्दु, बौद्ध र किरात) लाई विस्थापित गरी विदेशी धर्म र संस्कृति स्थापित गर्ने कार्य भइरहेको छ । एक दशकमा मात्र १० लाखभन्दा बढीको धर्मान्तरण गरिएको छ । विश्वमै सर्वाधिक तीव्र गतिमा धर्म परिवर्तन हुने देशमध्ये नेपाल पहिलो नम्बरमा छ । धर्म परिवर्तनको निसानामा सबैभन्दा बढी आदिवासी जनजाति र दलित परिवार रहेका छन् ।

धर्म परिवर्तनको प्रभावमा हिन्दु, बौद्ध र किरात सबै धार्मिक सम्प्रदाय परेका छन् । यस प्रकार अनियन्त्रित रूपमा भइरहेको धर्म परिवर्तनप्रति सरकार, सत्तारूढ दल र प्रमुख प्रतिपक्षसमेत उदासीन छन् । सरकारका कतिपय गतिविधिले परोक्ष रूपमा धर्म परिवर्तन गराउन क्रियाशील संस्था र प्रवृत्तिलाई प्रोत्साहित गरिरहेको छ । केहीअघि काठमाडौंमा एक विदेशी धर्मप्रचारक संस्थाले आयोजना गरेको विवादास्पद कार्यक्रममा सरकार र स्वयं प्रधानमन्त्रीको तामझामपूर्ण सहभागिता, करिब १३ करोड सरकारी लगानी एवं ‘होली वाइन’को प्रसंग त्यसको ज्वलन्त उदाहरण हो । धर्मप्रचारमा संलग्न भनी विवादमा परेको संस्थाबाट प्रधानमन्त्री विभूषित हुनुले पनि धर्म परिवर्तनप्रतिको सरकारको समर्थन स्पष्ट हुन्छ । सरकारले हालै राष्ट्रिय सभामा पेस गरेको विवादास्पद गुठी व्यवस्थापनसम्बन्धी विधेयकले समेत नेपालको सनातन, धर्म, संस्कृति र परम्परालाई कुण्ठित पार्ने प्रयास गरेको छ ।

राष्ट्र विखण्डनको खतरा : केहीअघि सरकार र सिके राउत नेतृत्वको विखण्डनकारी समूहबीच भएको सम्झौता सकारात्मक देखिए पनि त्यसले देश टुक्र्याउन चाहने प्रवृत्ति र गतिविधिलाई पूर्णतः निस्तेज पार्न सकेको छैन । विखण्डन केवल केही व्यक्तिसँग गाँसिएको लहड, मान्यता वा कार्य होइन । मूलतः विगतका कतिपय त्रुटि र कमजोरीका कारण यो प्रवृत्ति र आधारको जन्म भएको हो । तसर्थ, त्यो प्रवृत्ति र आधारलाई जरैदेखि समाप्त नपारेसम्म राष्ट्रिय अखण्डताप्रति पूर्ण रूपमा विश्वस्त हुन सकिन्न ।

सर्वसत्तावादतर्फ उन्मुख सरकार र दिशाहीन प्रमुख प्रतिपक्ष : प्रजातन्त्र र अधिकारका निम्त्ति फेरि जनताले कहिल्यै संघर्ष गर्नु नपरोस् भन्ने संकल्पसाथ ०६२/६३ को परिवर्तनलाई संस्थागत गर्ने प्रयास भएको हो । तर, परिवर्तनको अभ्यास भएको १३ वर्ष पुग्दानपुग्दै प्रजातन्त्र वा लोकतन्त्रको भविष्यमाथि पुनः प्रश्न खडा हुन थालेको छ । विगतमा झैँ प्रजातन्त्रमाथि प्रजातन्त्रविरोधीबाट होइन, प्रजातन्त्रका लागि संघर्ष गरेका, जेलनेल भोगेका र जनअधिकार रक्षा गर्ने प्रतिबद्धता बोकेर सत्तारूढ भएका एवं प्रमुख प्रतिपक्षको जिम्मेवारी वहन गरेका शक्तिको अकर्मण्यता, गलत नीति, भ्रष्ट प्रवृत्ति र अन्तर्विरोधका कारण लोकतन्त्रको भविष्यमाथि कालो बादल मडारिन थालेको छ । मुलुकमा हाल विद्यमान चुनौती र समस्याका निम्ति वर्तमान कम्युनिस्ट सरकार मात्र जिम्मेवार छैन, प्रमुख प्रतिपक्ष कांग्रेस पनि उत्तिकै जिम्मेवार छ । कहिले मिलेर, कहिले झगडा गरेर उनीहरूले देशलाई बर्बादीतर्फ धकेलिरहेका छन् ।

नयाँ निर्वाचनपछि देशमा शान्ति स्थापना हुनेछ, स्थिरता कायम हुनेछ तथा समग्र ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनेछ भन्ने आमजनताको विश्वास थियो । त्यही विश्वाससाथ जनताले बलियो र स्थिर सरकार बनाउन राष्ट्रवादको चर्को नारा दिएको तत्कालीन एमाले र माओवादी केन्द्र (हालको नेकपा) लाई करिब दुईतिहाइ स्थानमा विजयी गराए । यस्तो संसदीय शक्तिलाई देश र जनताको बृहत्तर हितमा प्रयोग गरी युगान्तकारी परिवर्तनतर्फ अग्रसर हुनुको सट्टा सरकार प्राप्त जनमतलाई सत्ता, शक्ति र राज्यस्रोत कब्जा गर्ने आधारभूमिका रूपमा प्रयोग गर्न उद्यत देखिन्छ । सबै संवैधानिक निकाय, राष्ट्रिय स्तरका आयोग, प्रशासन, शैक्षिक संस्था, कूटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टीप्रति आस्था राख्ने व्यक्तिहरू छानीछानी राख्ने कार्य गरिएको छ । शक्ति पृथकीकरणको मान्यतालाई आघात पु¥याउँदै न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको छ ।

भ्रष्टाचारको माध्यमबाट अकुत सम्पत्ति जोड्ने काम अनवरत जारी छ । अनुसन्धान र कारबाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरिएको छ । राज्यको चौथो अंग आमसञ्चारमाध्यमलाई नियन्त्रण गर्ने दुष्प्रयास भएको छ । मानवअधिकार आयोगलाई पंगु बनाउन खोजिएको छ । प्रधानसेनापतिसमेतलाई ‘बाइपास’ गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजिएको छ । उल्लिखित कार्यलाई आधार मान्ने हो भने सरकार सर्वसत्तावादको दिशातर्फ उन्मुख हुन खोजेको स्पष्ट बुझ्न सकिन्छ । सरकार अहिले नै सर्वसत्तावादी बाटोमा हिँडिनसकेको भए पनि सर्वसत्तावादका प्रारम्भिक संकेत भने स्पष्ट रूपमा देखिएका छन् । दुर्भाग्यवश सरकारको लोकतन्त्रविरोधी चरित्र र गतिविधिलाई खबरदारी र नियन्त्रण गर्ने कार्यमा प्रमुख प्रतिपक्षी दलसमेत निष्प्रभावी भएको छ । पार्टीभित्रको व्यापक गुटबन्दी, सैद्धान्तिक विचलन र बाह्य शक्तिको मुख ताक्ने प्रवृत्तिका कारण कांग्रेसले कम्युनिस्ट पार्टीको सर्वसत्तावादी वेगलाई रोक्न सक्ने सम्भावना क्षीण बन्दै गएको छ ।

विकल्पको खोजी : उपर्युक्त पृष्ठभूमिमा स्वभावतः वैकल्पिक शक्तिको खोजी गरिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आमजनताको ध्यान आकर्षित भएको छ । यद्यपि राप्रपालाई अहिले नै वैकल्पिक शक्तिका रूपमा जनताले स्विकार्ने अवस्था बनिसकेको छैन । राप्रपाको पृष्ठभूमि, विगतका गतिविधि र बारम्बार टुटफुट भइरहने चरित्रका कारण हाम्रो पार्टीप्रति पनि जनता पूर्णतः विश्वस्त हुन सकेका छैनन् । अझ विगतमा प्रजातन्त्रका लागि भएका आन्दोलनमा राप्रपाको भूमिकालाई लिएर पार्टीको प्रजातन्त्रप्रतिको प्रतिबद्धतामाथि नै आशंका गर्नेहरूको पनि ठूलो जमात छ । साथै, पार्टीले हाल अवलम्बन गरिरहेको विचारधारालाई प्रतिगामी मान्यताका रूपमा व्याख्या–विश्लेषण गर्नेहरूको पनि कमी छैन । तथापि कमी–कमजोरी र भ्रमका बाबजुद समकालीन नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्टको विकल्प बन्न सक्ने क्षमता र आधार राप्रपामा मात्र छ भन्नु अतिशयोक्ति ठहर्नेछैन ।

राप्रपाले अन्य राजनीतिक दलभन्दा फरक विचार र राष्ट्र निर्माणको वैकल्पिक मार्गचित्र बोकेको छ । कांग्रेस र कम्युनिस्टपछि देशव्यापी संगठनात्मक पहुँच र उपस्थिति भएको पार्टी राप्रपा नै हो । विगतमा राष्ट्रको हित र विकासमा महतवपूर्ण योगदान पुर्‍याएको प्रमाणित र खारिएको नेतृत्वपंक्ति छ, जसमाथि नेपाली जनताले भरोसा गर्न सक्छन् । तर, पार्टीको कमजोर संगठन, साधनस्रोतको न्यूनता, निर्वाचनमा निराशाजनक पराजय तथा विभाजनले गर्दा राप्रपाले आफूलाई वैकल्पिक शक्तिका रूपमा सशक्त ढंगले प्रस्तुत गर्न सकिरहेको छैन । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.