सर्लाही, वैशाख २३ः लालबन्दी नगरपालिकाका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नु परेको छ। भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैङ्कमा आएर लाइन बस्नु परेको भन्दै कतिपय वृद्धवृद्धाले गुनासो गरेका छन्।
लालबन्दी नगरपालिका–१६, परवानीपुरकी ९० वर्षीया शिवमाया बस्नेतले सामाजिक सुरक्षा भत्ता लिन बिहीबार बिहान ८ बजेदेखि नै लालबन्दीस्थित सिद्धार्थ बैङ्कको शाखामा आएर लाइन बसेको बताइन्। भत्ता बुझ्नका लागि बस्नेतससहित परवानीपुरका छ जना वृद्धा टेप्पु चढेर बिहान ८ बजे नै लालबन्दी आइपुगेकाे भेटिए। बैङ्क खुलेपछि पनि झरीमा भिज्दै बैङ्कमा लाइन बस्नेहरूको ठूलो भीड देखिन्थ्यो।
वृद्धवृद्धाले प्रत्येक पटक भत्ता निकासा हुँदा घामपानी नभनी यसैगरी लाइनमा बसेर भत्ता बुझ्दै आएका छन्। त्यसरी लाइनमा बस्दा वृद्धवृद्धा थप बिरामी नै पर्ने अवस्था छ। शिवमायासँगै भत्ता बुझ्न आएकी ७४ वर्षीया सावित्रा कार्कीले वृद्धभत्ता कटौती हुने हल्ला सुनेर पनि आफूहरू हतारहतार भत्ता बुझ्न आएको बताइन्। “हामी प्रायः यसैगरी लाइनमै बसेर भत्ता बुझ्छौँ, अहिले त झन् भत्ता दिँदैन अरे भन्ने सुनेर सबै जना हतारहतारमा आएका हौँ,” उनले भनिन्, “अलि सहज रूपमा भत्ता पाउन पाए हुन्थ्यो, यसरी घण्टौँ लाइनमा बस्दा हामी बूढाबूढीलाई धेरै गाह्रो हुन्छ।”
लालबन्दी नगरपालिका–१६ का वडा सचिव विष्णु गौतमले रकम निकासा हुनासाथ बैङ्कमा एकैसाथ सबै वृद्धवृद्धा पुग्दा समस्या हुने गरेको बताए। धेरै भीड हुन थालेपछि वृद्धवृद्धालाई उभिन गाह्रो पर्ने र बैङ्कलाई पनि सेवा दिन अप्ठ्यारो परेपछि बैङ्कको आग्रहमा वडा कार्यालयबाटै एक दिनमा ५० जनालाई मात्रै टोकन दिएर पठाउने गरिएको वडा सचिव गौतमले बताए।
“वडाबाटै भत्ता बाँड्न सरकारले स्वीकृत दिँदैन्, त्यसका लागि बैङ्कसमेत तयार छैन्,” गौतमले भने, “भत्ता खातामा हालेपछि हामीले साबिकको वडाअनुसार दैनिक ५० वटा टोकन बाँड्छौँ तर तुरुन्त पैसा निकाल्न भन्दै एकै पटक सबै जना पुग्दा यस्तो समस्या भएको हो।” अब भत्ता नै काटौती गर्न लागेको छ भन्ने गलत हल्ला फिँजाइदिँदा खातामा जम्मा भएको पैसा निकाली हालौ भन्नेहरूको भीड लागेको उनको भनाइ छ।
वडा नं. १६ को वडा कार्यालयले इच्छुक वृद्धवृद्धाबाट मञ्जुरीपत्र लिएर उनीहरूको छोरा÷बुहारीलगायत परिवारका अन्य सदस्यले समेत भत्ता बुझ्ने व्यवस्था मिलाइएको जनाएको छ। लालबन्दी नगरपालिकाले १७ वटा वडाको लालबन्दी बजार क्षेत्रमा रहेका १४ वटा बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट भत्ता बाँड्दै आएको छ।
सिद्धार्थ बैङ्कमा वडा नं. १५, १६ र १७ गरी तीनवटा वडाको भत्ता पठाउँदा धेरै नै भीड भएपछि यो किस्तादेखि वडा नं. १७ रानीगञ्जको सामाजिक सुरक्षा भत्ता कुमारी बैङ्कबाट बाँड्न थालिएको लालबन्दी नगरपालिका पञ्जीकरण शाखाकी प्रमुख सुस्मिता गौतमले बताइन्। लालबन्दी नगरपालिकाको दुर्गम भेगमा पर्ने वडा नं. १४ नारायण खोला र वडा नं. १५ परवानीपुरको माथिल्लो भेगका बासिन्दाले घण्टौँ धाएर लालबन्दी बजारसम्म आउनुपर्ने र त्यहीँमाथि लाइनमा बस्नुपर्दा सामाजिक सुरक्षा भत्ता लिन गाह्रो भइरहेको गुनासो गरेका छन्। गाेरखापत्र अनलाइनबाट