वीर अस्पताल सरसफाइमा धुर्मुस-सुन्तली फाउन्डेसनलाई ८ लाख सहयोग

रिपोर्ट नेपाल | 2018 May 31 | 12:59 pm 1370

काठमाडौं । वीर अस्पताल सरसफाइ कार्यक्रममा सपाेर्ट गर्दै धुर्मुस–सुन्तली फाउन्डेसनलाई अाठ लाखभन्दा बढी सहयाेग रकम जुटेको छ । पर्यटन व्यवसायीहरूकाे समूहबाट उक्त रकम जुटेकाे फाउन्डेसनले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेकाे एकमहिने सरसफाइ अभियानमा धुर्मुस-सुन्तली फाउन्डेसनले समेत अग्रसरता लिँदै वीर अस्पतालकाे सफाइ कार्य गरेकाे हाे । उक्त अभियान नेपालको जेठो अस्पताल वीर अस्पतालबाटै सुरु भएकाे हाे । सरसफाइ अभियान दूतका रूपमा हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् ।

अस्पताल सरसफाइ कार्यक्रमका लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई आएको सहयोग फाउन्डेसनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको छ । फाउन्डेसनका अनुसार ८ लाख १५ हजार २ सय ३० रुपैंया सहयोग प्राप्त भएको छ । फाउन्डेसनले सहयोग रकम दिने व्यक्तिको नामावली र सहयोग रकमसहित फेसबुक पेजबाट सार्वजनिक गरेको हाे ।

फाउन्डेसनका अनुसार अस्पताल सरसफाइका लागि नै सहयोग उठाइएको हो । फाउन्डेसनले सहयोग गरिदिने सबैमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।

के भन्छन् धुर्मुस ?

धुर्मुसले सरकारले सरसफाइ मात्रै भनेको तर रङरोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको बताएका छन् । उनले प्रारम्भिक चरणमा सरसफाइ मात्रै गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थरूपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको बताए ।

गत वैशाख २३ गते आइतबार अस्पताल सरसरफाई अभियानकाे सुरुवात स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र सरसफाइकर्मी खेम शर्माले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.