वीरगन्ज भन्सारबाट ८८ अर्ब ६९ करोड राजस्व संकलन

रिपोर्ट नेपाल | 2021 Dec 19 | 08:19 am 1537

पर्सा, पुस ४ः वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन पछिल्लो समयमा लयमा फर्किएको छ। कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणाम भन्सार राजस्व सुधारको रूपमा देखिएको हो।

मुलुकको प्रमुख व्यापारिक नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिना (गत साउनदेखि मंसिरसम्म) ८८ अर्ब ६९ करोड ९२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस कार्यालयको लागि तोकेको लक्ष्य ८२ अर्ब ६१ करोड २५ लाखभन्दा संकलित राजस्व ७ प्रतिशत बढी हो।

गत वर्षको यसै अवधिको तुलनामा भने वीरगन्ज भन्सारले ३० अर्ब ५३ करोड ९२ लाख बढी राजस्व उठाएको हो। कार्यालयले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा संकलित राजस्व ५८ अर्ब १५ करोड ९९ लाखभन्दा ५२.५० प्रतिशत बढी यस वर्ष उठेको छ। यो नाकाबाट आयात भएका मुख्य वस्तुमा पेट्रोलियम इन्धन, सवारी साधन, भटमास, सूर्यमुखी र खजुरको कच्चा तेल, पत्थर कोइला, तयारी कपडा लगायत छन्।

मूल्य अभिवृद्धिकर बढ्यो अन्तःशुल्क घट्यो

वीरगन्ज भन्सार कार्यालयबाट संकलित राजस्वमा मूल्य अभिवृद्धिकर लक्ष्यभन्दा ३० प्रतिशत बढी छ। अन्तःशुल्कमा लक्ष्यभन्दा १६ प्रतिशत कम संकलन भएको छ। यसपटक वीरगन्ज भन्सार कार्यालयलाई २६ अर्ब २७ करोड ४६ लाख रूपैयाँ मूल्य अभिवृद्धिकर असुलीको लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा ३० प्रतिशत बढी अर्थात ३४ अर्ब १६ करोड ८९ लाख रूपैयाँ उठाएको छ।

अर्कोतिर अन्तःशुल्कको लक्ष्य १२ अर्ब ७८ करोड ९५ लाख रूपैयाँको रहेकामा त्यसको ८४ प्रतिशत अर्थात १० अर्ब ७८ करोड ६१ लाख रूपैयाँ मात्र संकलन भएको छ। अन्तःशुल्क लाग्ने वस्तुको आयात लक्ष्य बमोजिम नभएकोले यसबाट उठ्ने राजस्वमा कमी आएको भन्सार अधिकारी बताउँछन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.