वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

रिपोर्ट नेपाल | 2019 Mar 01 | 05:04 pm 3152

सुनसरी, फागुन १७  :  भ्रष्टाचारको आरोपमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियारलाई बर्खास्त गरिएको छ ।

प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको प्रतिष्ठानको ४२ औँ सिनेट बैठकले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनलाई प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) अनुसार पद मुक्त गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानलाई अस्तव्यस्त बनाएको तथा उपकरण खरिदमा भ्रष्टाचार गरेको, कर्मचारी नियुक्तिमा चलखेल गरेको, नियमावली विपरीत प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठलाई अधिकार विहीन बनाएको लगायतका आरोप लगाइएको छ ।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म सिनेट बोलाउन उपकुपतिलाई निर्देशन दिए पनि अटेर गरे पछि प्रतिष्ठानको नियमावली अनुसार तेस्रो पटक सह–कुलपति समेत रहेका स्वास्थ्य मन्त्रीको अध्यक्षतामा सिनेट बैठक बसेको थियो । उपकुलपति रौनियार बारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयले डाक्टर केदारबहादुर अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.