विश्‍व शान्ति स्थापना कार्यमा खट्टिएका नेपाली शान्ति सैनिकद्धारा उच्च सतर्कता

| 2020 Mar 19 | 07:24 am 1373

काठमाडौं, चैत ६: कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न नेपाली शान्ति सैनिकहरुले आवश्यक नियन्त्रणात्मक र निषेधात्मक उपायहरु अवलम्बन गरी उच्च सतर्कता अपनाइ रहेका छन् ।

विश्वव्यापी रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड १९) सन्दर्भमा मिशनमा तैनाथ शान्ति सैनिकहरुद्वारा सचेतना कार्यक्रम र संक्रमणबाट खतरामुक्त रहेको एकिन गर्न आवश्यक प्रबन्ध मिलाईएको छ ।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कबाट सर्तकता अपनाउन निर्देशन प्राप्त भईरहेको छ भने नेपाली सेनाको जंगी अड्डाबाट समेत मिशनमा तैनाथ शान्ति सैनिकहरुका लागि निरन्तर रुपमा आवश्यक निर्देशन दिईरहेको छ ।

हाल विश्वका ११ वटा मुलुकहरुमा जम्मा ५ हजार १ सय १ जना नेपाली शान्ति सैनिकहरु कन्टिन्जेन्ट र सैनिक पर्यवेक्षण कार्यमा संलग्न रहेका छन् ।

संक्रमणको जोखिमको मुल्याङ्कन गरी नेपाली शान्ति सैनिकहरुद्वारा आफ्ना अपरेशनल तथा अन्य गतिविधिहरु सिमित गरिएको र नेपाली शान्ति सैनिकहरुद्वारा स्थानीय बासिन्दाहरुलाई समेत सचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छन् ।

साथै दक्षिण सुडानले एसियाली पाँच मुलुकहरु जनवादी गणतन्त्र चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरुको हवाई आवगमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिकहरुको रिडिप्पोयमेण्ट हाललाई स्थगित भएको छ ।

नेपाली सेनाले मिशनमा तैनाथ हुन जाने शान्ति सैनिकहरुलाई तैनाथ पूर्व सचेतना कार्यक्रम संचालन गर्ने‚ आवश्यक मेडिकल उपकरण र जनशक्तिको व्यवस्था गर्ने तथा स्वास्थ्य परिक्षण गरी कोरोना मुक्त भएको एकिन गरेपछि मात्र मिशनमा तैनाथ गर्नका लागी आवश्यक व्यवस्था मिलाएको र सोही बमोजिमको जानकारी न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय तथा मिशन हेडक्वार्टर मार्फत दक्षिण सुडान सरकारलाई जानकारी गराईसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.