विश्वकै अग्लो हाइड्रोलिक स्विङ

रिपोर्ट नेपाल | 2021 Nov 11 | 08:12 am 2221

पर्वत, कात्तिक २५ः सहासिक पर्यटकीय गन्तब्य बन्दै गएको पर्वतको कुस्मामा विश्वकै अग्लो हाइड्रोलिक स्विङ निर्माण गरिएको छ । कुस्मामा आउने पर्यटकका लागि अर्को स्वादको रुपमा कालीगण्डकीको खोंचमा विश्वकै अग्लो हाइड्रोलिक स्विङ निर्माण गरिएको हो ।

विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन निर्माण गरिरहेको द हार्नेस प्रालिले झण्डै १ करोडको लागतमा हाइड्रोलिक स्विङ निर्माण गरेको हो । हाइड्रोलिक स्विङ यसअघि चीन, अमेरिका र दक्षिण अफ्रिकामा मात्रै सञ्चालनमा छन् । पर्वतमा निर्माण गरिएको स्विङ ५२ फिट अग्लो छ । स्विङबाट कालीगण्डकीको खोंच देखिने भएकाले झण्डै ३ सय मिटरको उचाई माथि पुग्न सकिने छ ।

नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङलाई हातले तान्ने वा घिर्नी र डोरीको प्रयोग गरेर तानेर छाड्ने खालको रहेकोमा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय मेसिनको प्रयोग गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सुनिलसिंह बानियाँले बताए । ‘स्विङ जडानको काम सकिएको छ’ कार्यकारी निर्देशक बँनियाँले भने–‘परीक्षणपछि व्यावसायिक रुपमा खुल्ला गर्ने तयारीमा छौं।’ स्विङ विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको हुने बानियाँको दाबी छ ।

यो स्विङमा एकपटकमा चार जनासम्म बसेर खेल्न मिल्नेछ। पिङ मच्चिएको अवस्थामा कालीगण्डकी किनारमा रहेको डरलाग्दो भीरमाथिको भागमा सिधा भएर बसेको हुनेछ। मेसिन निश्चित गतिमा चल्ने भएकाले अरु डोरीको पिङजस्तो शुरूमा चर्को र विस्तारै गति कम हुँदै जाने हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चित पटक मात्रै मच्चिने र हरेक पटक पार गर्ने दूरी पनि बराबर नै हुने ‘द हार्नेस प्रालि’ का अध्यक्ष विदुर पौड्याल बताउछन् । पिङमा चिनियाँ प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । नेपालमा यस्ता पिङ नबनेकाले पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई यसले लोभ्याउने आस गरेको उनले बताए ।

द हार्नेस प्रालिले कालीगण्डकी नदीमा रहेको बिश्वकै दोस्रो अग्लो बन्जी नजिकैबाट १४ सय ८० मिटर लामो सुपरम्यान शैलीको जिपलाइन सञ्चालन गर्न लागेको छ । जिपलाइनको परीक्षणसमेत सफल भएकाले केही दिनभित्रै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी रहेको छ।

पर्वतमा बन्दै गएका साहसिक खेलले जिल्लामा पर्यटकको आकर्षण बढिरहेको बेलामा केही दिनमा नै सञ्चालनमा आउन लागेको जिपलाइन र हाइड्रोलिक पिङले झनै आकर्षण थप्ने कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । कुनै बेला बाटो हिंड्नसमेत डर लाग्ने र जति बेलै बाँदरको मात्र बथान देखिने कालीगण्डकीको भीरमा बनेका साहसिक खेल तथा पर्यटकीय गन्तव्यले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.