विश्वका धेरै प्रदूषित शहर नयाँ दिल्ली, काठमाडौं एक सयौं स्थानमा

| 2019 Mar 06 | 07:37 am 2064

एजेन्सी । विश्वका सबैभन्दा प्रदूषित शहरहरुको सूचीमा शीर्ष २२ वटा भारतका शहर रहेका छन् । एयरभिजुअलले सार्वजनिक गरेको यस नयाँ रिपोर्टअनुसार भारतको नयाँ दिल्लीस्थित गुरुग्राम क्षेत्र विश्वकै सबैभन्दा प्रदूषित शहर हो । यसरी यता अत्याधिक कार्बन उत्सर्जनका कारण पछिल्लो समय उच्च प्रदुषणको मारमा रहेका चिनियाँ शहरहरुमा भने गत वर्षको तुलनामा केही सुधार देखिएको बताइएको छ ।

वायुको गुणस्तर मापन गर्दैगर्दा नयाँ दिल्लीको वर्षभरको औसत ‘एयर क्वालिटी इन्डेक्स’, एक्युआइ १३५.८ रहेको पाइएको हो जुन स्वस्थ स्तर भन्दा तीन गुना बढी हो । ५० भन्दा कम एक्युआइलाई मात्र स्वस्थकर मानिन्छ भने ५० देखि १०० सम्मकोले संवेदनशील समूहलाई असर गर्ने गर्छ तर १०० भन्दा माथिको एक्युआइ भने स्वास्थ्यका निम्ति अत्यन्तै खतरनाक मानिने गरिएको छ ।

यस्तोमा सो सूचीमा नेपालका दुई शहर काठमाडौं र वीरेन्द्रनगर परेका हुन् जसको एक्युआइ पनि अघिल्लो वर्षको तुलनामा बढ्न पुगेको हो । सूचीमा काठमाडौं एक सयौं स्थानमा छ भने वीरेन्द्रनगर २२१ औँ मा रहेको छ । २०१७ मा काठमाडौंको वर्षभरको औसत एक्युआइ ४५.९ थियो भने २०१८ मा बढेर ५४.४ पुगेको हो । विशेषगरी जाडो मौसममा काठमाडौंको वायु अत्यन्तै अस्वस्थकर हुने गरेको डाटामा उल्लेख छ । गत वर्ष डिसेम्बरदेखि मार्च महिना बीच काठमाडौँको एक्युआइ ९६ सम्म पुगेको थियो ।

नयाँ दिल्लीको एक्यु आइ भने जाडो याममा २०० भन्दा अधिक पुग्ने गरेको छ । यो मौसममा धेरै दाउरा बालिने हुनाले बढी प्रदुषण हुने गरेको विश्लेषकहरु बताउँछन् । यसरी सूचीमा भारतका ५८ वटा शहरहरु परेका छन् भने चीनका ३८८ शहरहरु छन् । यसकारण पनि विश्वमै दक्षिण एसियालाई प्रदूषणले सबैभन्दा ग्रस्त क्षेत्र मानिन्छ । चीन, भारत र नेपाल मात्र नभएर दक्षिण कोरिया, थाइल्यान्ड, इन्डोनेशिया र भियतनाम पनि उच्च प्रदुषणको मारमा छन् । जनवरीमा मात्र थाइल्यान्डको राजधानी ब्याङककमा प्रदुषण कम गर्नकै लागि कृत्रिम बादल विकास गरि वर्षा गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.