विश्वकप अभ्यासमा जर्मनी र नाइजेरिया पराजित

रिपोर्ट नेपाल | 2018 Jun 03 | 10:21 am 2779

काठमाडौं, जेठ २०: विश्वकप अघिको मैत्रिपूर्ण अभ्यास खेलमा अष्ट्रियासँग जर्मनी पराजित भएको छ । गएको सेप्टेम्बरमा खुट्टा भाँचिएपछि पहिलो पटक मैदानमा उत्रिएका मानुयल नेयुर उपस्थित खेलमा अष्ट्रियाले जर्मनीसँग २–१ को जित हात पार्‍यो ।

पहिलो हाफमा एक गोलले पछि परेको अष्ट्रियाले दोस्रो हाफमा दुई गोल गर्दै कमब्याक गरेको थियो । ११ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफभरी सोही अग्रता कायम राख्न सफल जर्मनीविरुद्ध ५३ औं मिनेटमा मार्टिन हिन्टेरेगरले गोल गर्दै खेल बराबरीमा पर्याए । ६९औं मिनेटमा अलेसान्द्रो स्कुफले गोल गरेपछि खेलमा अष्ट्रियाले २–१ को अग्रता लियो । त्यसपछि गोल हुन नसक्दा जर्मनी पराजित हुन पुग्यो ।

जर्मनीविरुद्ध अष्ट्रियाको ३२ वर्षमा पहिलो जित हो ।

यस्तै, शनिबार रातिको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डले नाइजेरियालाई हरायो ।

लण्डनको विम्ब्ली रंगशालामा भएको खेलमा घरेलु टिम इंग्ल्याण्डले नाइजेरियालाई २–१ ले हरायो । ग्यारी केहिलले सातौं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–० मा लम्ब्याए ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो हाफको सुरुवातमा नै गोल खायो । ४७ औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै इंग्ल्याण्डको अग्रता २–१ मा छोट्याएका थिए । तर त्यसपछि गोल हुन नसक्दा इंग्ल्याण्ड विजयी भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.