काठमाडाैं, माघ २९ः सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न पहल सुरु गरेकाे छ। आज चिकित्सक संघ र सरकारी टोलीबीच भएको सहमति अनुसार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्ने सरकार तयार भएको हो। यससम्बन्धमा सरकारलाई एकहप्ताभित्र सुझाव पेश गर्ने र सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति पत्रमा लेखिएको छ।
सहमति पत्रको चार नम्बर बुँदामा भनिएको छ, ‘विशिष्ट व्यक्ति को सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा सरकार समक्ष एक हप्ताभित्रमा सुझाव पेश गर्ने। उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने।’
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेका थिए। त्यसको विरोधमा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको हो ।
विशिष्ट व्यक्तिहरुको सवारीको सुरक्षा व्यवस्थापनलाई लिएर बेला बेलामा प्रश्न उठ्ने गरेको छ। सवारीका समयमा सडक पूर्णरुपमा खाली गराउने प्रवृतिले सर्वसाधारण मर्का पर्ने गरेको भन्दै यस्तो कार्यविधि परिमार्जन गर्न आवाज उठिरहेका छन्।