विलविजक भन्दा फरक सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Oct 13 | 07:54 pm 1265

सुनसरी, असाेज २७ः जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट असोज २६ गते सशस्त्र प्रहरीले बरीव ४१ लाख ५४ हजार रुपैयाँ बराबरको ५ सय ४० कार्टुन पेय पदार्थ र सय बोरा मैदा बोकेको  दुई वटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ६ बस्ने ४१ वर्षिय सभापती यादव र सिन्धुली जिल्लाको कमलामाई नगपालिका ५ बस्ने ३८ वर्षिय जितबहादुर थिङ्ग छन् ।

विराटनगरबाट सप्तरीतर्फ आउँदै गरेको ना ४ ख ७८८३ र बा ५ ख ६९३५ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामानको विलविजकमा उल्लेख भएभन्दा फरक पाईएपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी हरिपुरले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ 
सिरहा जिल्लाको बरियापट्टि गाउँपालिका ३ स्थित भन्सार ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको सुखिपुर गाउँपालिका ३ बस्ने २८ वर्षिय विरेन्द्र यादवलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल वरियापट्टिले जाँच गर्दा उनको साथमा बुप्रेनोथाईजिन १ वटा, हाईड्रोक्लोराईड ३ एम्पुल फेबुप्रेनोर्फिन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र रन्टीडाईन इन्जेक्सन १ एम्पुल फेला पारेको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ  ।

सशस्त्र प्रहरीद्वारा सालको गोलिया काठ बरामद
महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित खेतमा अवैध रुपले कटान गरी लुकाई छिपाई राखेको करीव १ लाख ५० हजार रुपैयाँ बराबरको सालको गोलिया काठ सशस्त्र प्रहरीले असोज २६ गते बरामद गरेको छ । उक्त काठ सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्ष पोष्ट लक्ष्मिनियाले बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मिनियामा बुझाईएको छ ।

बेवारिसे अवस्थामा रहेको चिनी बरामद
पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ४ स्थित बडसारे सडक किनाराबाट असोज २६ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको ६० बोरा चिनी बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उक्त चिनी सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र बिओपी भुजहवाले बरामद गरेको हो । बरामद चिनी महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको औषधीसहित घोडा बरामद
सशस्त्र प्रहरी बल नेपाल बिओपी रामनगरले सप्तरी जिल्लाको बलानविहुल गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट असोज २७ गते करीव ५१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधीसहित घोडा बरामद गरेको छ । भारतबाट अवैध रुपले घोडामा राखी ल्याउँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त औषधी तथा घोडा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद औषधी तथा घोडा भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.