- कृष्ण प्रसाद सापकोटा
काठमाडौँ, २९ जेठ : नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाउन कांग्रेस सबै मिलेर जानुको विकल्प नहरेको बताएका छन् । सभापती देउवाले उक्त कुरा नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं महाधिवेशनको उद्घाटन समारोहमा बताएका हुन् ।
सभापती देउवाले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘सबैले सभापतीलाई सहयोग गर्नु पर्यो । खाली विरोध मात्रै गरेर कहाँ एक ढिक्का हुन सकिन्छ । सरकार स्वेच्छाचारी हिसाबले अगाडी बढी रहेको छ । महङ्गी बढाईरहेको छ । अब हामी आन्दोलनमा जानेबेला आएको छ ।’
बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस श्रमजिवीको पार्टी भएकोले सधै मजदुरको मुद्दालाई बोक्ने गरेको बताए । देशभरबाट आएका ट्रेड यूनियन कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्दै नेता पौडेलले पार्टीलाई एक बनाएर लैजान नेतृत्वलाई दवाब दिन अग्रह गरे ।
मजदुरको हक हितको लागि श्रम आयोग आवश्यकता रहेको कुरालाई कांग्रेसले भुल्न नहुने बताएका थिए । प्रधानमन्त्री केपी ओली पछिल्लो समयमा बादशाह बन्न खोजेको आरोप लगाउदै नेता पौडेलले संविधानमा प्रष्ट रुपमा एउटै पार्टीको सभामुख र उपसभामुख हुन नपाउने ब्यवस्था हुँदा पनि एउटै पार्टीको सभामुख र उपसभामुख भएकोले संसदमा यसका विरुद्ध सशक्त रुपमा लाग्नुपर्ने बताए । संविधानमा प्रष्ट भएको कुरालाई कम्युनिष्ट नेतृत्वको सरकारले लत्याएको उनको आरोप थियो ।
उपसभापती विमलेन्द्र निधिले ट्रेड युनियन कांग्रेस मजदुर हक हितका लागि स्थापीत भएको बताएका छन । उनले कार्यक्रममा बोल्दै भने मजदुरको हक हितलाई स्थापित गर्दै मजदुरको स्तर उन्नतीका लागि अहिले सरकार वाधक भएको छ । उनले थपे यो सरकारले मजदुरका अधिकार खास्दै छ । लोकतन्त्रको विरुद्धमा काम गर्दै छ । अब हामी सचेत हुन जरुरी छ । अब हामी कुनै पनि अधिनायकवाद मान्न तयार छैनौ, सरकार अधिनायकवाद तिर उन्मुख भई रहेको छ ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपालको लोकतान्त्रीक आन्दोलनमा मजदुरहरुको अग्रणी भूमिका रहेको बताए । नेता सिटौलाले सरकार चलाउन स्पष्ट बहुमत हुँदा हुँदै दुई तिहाइको पछाडी दौडिनुमा केपी नेतृत्वको सरकार निरंकुशताको लागि अघि बढ्न खोजेको आरोप लगाए केन्द्रीय सदस्य गगन कुमार थापाले अब बल र भरको आधारमा पार्टी चलाउने सोच र चिन्तनलाई बदलि विधि विद्यान अनुसार चलाउनु पर्ने कुरामा जोड दिए ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेताहरुको केहि विमती भए बन्द कोठामा बसेर बार्ता सल्लाहबाट मिलाउन सल्लाह दिदै घर भित्रको झगडा बाहिर मञ्चमा बोल्न नहुने बताएका थिए । ट्रेड यूनियन कांग्रेसका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले जवसम्म मजदुरको जिविको पार्जन गर्नका लागि हामीले पहल गर्दैनौ तव सम्म विपीको समाजवाद लागु हुन नसक्ने ठोकुवा गरे ।
नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न देशका मजदुर नेताका साथै महेन्द्र शर्मा, विश्वनाथ प्याकुरेल, पुष्कर आचार्य, रमा पौडेल, विनोद कार्की, राजेन्द्र पौडेल, दिपक तामाङ्ग र केदार दाहाल लगाएतका मजदुर नेताले शुभकामना व्यक्त गरेका थिए ।