माेरङ, बैशाख २८ः विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । १ नम्बर प्रदेशकाे काेराेना (काेभिड १९) उपचार केन्द्र विराटनगरको कोसी अस्पतालमा उपचार गराइरहेका दुई जना डिस्चार्ज भएका हुन् ।
अस्पताल स्राेतका अनुसार वैशाख १० गते भर्ना भएका भोजपुरका २७ वर्षीय युवक र १२ गते भर्ना भएका झापा दमकका ६३ वर्षीय वृद्ध आइतबार डिस्चार्ज भएका हुन् ।
उनीहरुलाई कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । सिग्देलले भने, जनप्रतिनिधिको समन्वयमा उहाँहरु घरमा नै क्वारेन्टाइन बस्नुहुन्छ ।
याेसँगै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए ।
यसरी १६ जना निकाे भएर डिस्चार्ज भएपनि अस्पतालमा चार जना बिरामी थपिएका छन् । डाक्टर सिग्देलका अनुसार उदयपुरमा संक्रमण देखिएका चार महिला अस्पताल भर्ना भएका हुन् ।
प्रदेश १ मा संक्रमितको संख्या ३५ जना पुगेका छन् । जसमा १६ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररात छन् ।