काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
निर्देशक पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
बुधबार विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । सुन १ सय किलो भएको अनुमान गरिए पनि तौल गर्न राष्ट्रबैंक पठाइएको बताइएको छ । उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । भन्सार विभागले पक्राउ परेका कर्मचारीहरु तथा संलग्नलाइ छानविन गरि निलम्बन गर्ने तयारी भइरहेको पनि बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा आयाततर्फ खटिएका कर्मचारीको संलग्नताका विषयमा समितिले छानबिन बताएको छ । समितिले आजै कार्गो भवनमा रहेका सीसीटीभी हेर्ने जनाइएको छ ।