विभीषणको बहादुरी !

रिपोर्ट नेपाल | 2021 Jul 21 | 10:56 am 685

  • देवप्रकाश त्रिपाठी

संसारका कुनै पनि मुलुकमा नयाँ सरकार गठन हुनेवित्तिकै त्यसको आलोचना गर्ने या सरकारको यात्रामा अवरोध पुऱ्याउने कार्य गरिन्न । नेपाल मात्र यस्तो देश हो, जहाँ सरकारले आलोचना र अवरोधको सामना गर्न साता लामो समय प्रतीक्षा गर्नु पर्दैन । नेपालको सन्दर्भमा सत्तामा पुग्नु भनेकै आलोचित बन्नु हो, त्यसैले हरेक व्यक्ति या पक्ष लोकप्रिय हुँदै सरकारमा पुग्ने र अलोकप्रियताको उत्कर्षमा पुगेर सरकारबाट बाहिरिने क्रमले परम्पराको रूप लिँदैछ । कुनै पनि प्रधानमन्त्री या मन्त्रीप्रति सकारात्मक दृष्टि राख्न नहुने संस्कारको विकास काङ्ग्रेस र कम्युनिष्टले नै गरेका हुन् । तीन दशकसम्म पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा काङ्ग्रेस-कम्युनिष्टले हरेक सरकार तथा सरकारी व्यक्तिको विरोध गर्ने गरे र त्यो अन्ततः संस्कार बन्न पुग्यो । आफैंले बसाएको संस्कारको शिकार तीन दशकदेखि काङ्ग्रेस-कम्युनिष्ट नै हुँदै आएका छन् ।

भर्खरै बनेको शेरबहादुर देउवा नेतृत्वको माओवादी गठबन्धन सरकारले प्रारम्भिक दिनदेखि नै आलोचनात्मक टिप्पणी ब्यहोर्नु परेको छ । तर शेरबहादुर देउवा नेतृत्वको नवगठित सरकारको आलोचना हुनुलाई अस्वाभाविक मानिएको किन छैन भने यो सरकार अप्राकृतिक किसिमबाट अस्तित्वमा आएको हो । जुन प्रक्रियाबाट नयाँ सरकारको उदय गराइयो, स्वयम् सरकारमा आउनेहरूले समेत भविष्यमा उक्त प्रक्रिया स्वीकार गर्न सक्ने छैनन् । कार्यपालिकाको विशेष अधिकार, संसद्को सर्वोच्चता, संवैधानिक व्यवस्था र राजनीतिक परम्परा भत्काउँदै अस्तित्वमा ल्याइएको सरकारको नेतृत्वमा पटक-पटक परिक्षीत व्यक्तिलाई प्रस्तुत गरिएकोले पनि आलोचनात्मक टिप्पणीको वेगमा शीघ्रता आएको हो ।

२०६१ साल माघ १९ गते तत्कालिक राजाबाट विशेष कदम चालिँदा नेपालीजनले उक्त कदमको स्वागत गरेका भए पनि तुल्सी गिरीहरूलाई सरकारको महत्वपूर्ण जिम्मेवारी दिइएलगत्तै आममानिस निरास बनेका थिए । अहिले केपी ओलीलाई अपदस्थ गरिएपछि उहाँको स्थानमा कुनै इमानदार, योग्य र नयाँ अनुहारलाई प्रस्तुत गरिएको भए आममानिसमा आशा र विश्वासको सञ्चार हुन पनि सक्थ्यो । केपीलाई विस्थापित गरेर शेरबहादुर या कुनै पनि आकारप्रकारका बहुराष्ट्रिय राज्यका हिमायतीहरूलाई स्थापित गरियोस् भन्ने चाहना नेपालीको थिएन, होइन । नेपाली राजनीतिमा बिग्रिएको ‘क्यासेट प्लेयर’मा झैँ बारम्बार एउटै गीतको हरफ दोहोरिने अवस्थाको पुनरावृत्ति भएको छ । यद्यपि राजनीतिलाई थोत्रो ‘प्लेयर’ झैँ एउटै गीतमा सीमित गर्ने श्रृङ्खलाको सुरुवात धेरै अगाडि नै भएको हो र, विभिन्न समयमा विभिन्न आकारप्रकारका पात्रहरूलाई यस्ता कार्यमा अघिसार्ने गरिएको छ । पछिल्लो घटनामा अदृष्य शक्तिहरूले माधवकुमार नेपाललाई विभीषणका रूपमा अघि सारेर आफ्नो अल्पकालिक साध्य पूरा गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको ‘पश्चगामी’ सरकार विस्थापित भएर शेरबहादुर देउवाको नेतृत्वमा ‘अग्रगामी’ सरकार गठन भएसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चर्चा चुलिएको छ । केपीको अहङ्कार तोडेको, संविधान एवम् संसद्को रक्षा गरेको र देशलाई मुठभेडमा जानबाट बचाएको जस्ता विशेषणबाट माधव नेपाल विभूषित हुनुभएको छ र, उहाँलाई यसरी सम्मान गर्न वामपन्थी काङ्ग्रेस र माओवादी पक्षका नेता-कार्यकर्ताहरूले कुनै कञ्जुस्याइँ गरेका छैनन्, हृदय खोलेर माधवको नाममा प्रशंसाको वर्षा गरिएको छ ।

जब भारतसँग केपीको सम्बन्ध कसिलो हुँदै गयो, तब पश्चिमाहरू झस्किए । नरेन्द्र मोदीसँग नेपाल र नेपालीको सम्बन्ध सुदृढ एवम् सुमधुर बन्दा नेपालको संविधान खतरामा पर्ने बुझाइ पश्चिमाहरूको छ । त्यसैले अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको साथ खोज्ने पश्चिमाहरू नेपालमा भारतको ‘स्वतन्त्र भूमिका’सँग झस्किन्छन् । शताब्दी लामो प्रयास, अर्बौं अर्बको लगानी र अथक कुटनीतिक प्रयासबाट नेपालमा ल्याइएको धर्मनिरपेक्षता, जातीय विभाजन र सङ्घीयतासहितको गणतन्त्रात्मक संविधानको रक्षा गर्नु पश्चिमाहरूको पहिलो प्राथमिकता बनेको छ ।

परम्परागत कम्युनिष्ट पार्टीमा शत्रुपक्षको प्रशंसामा पनि सन्देह गरिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङ्गले भनेका थिए- ‘यदि हाम्रो पार्टीका कसैलाई सत्रुपक्षले प्रशंसा गरे भने आफूमा कुनै कमजोरी भएको बुझ्नुपर्छ र, कमजोरी पहिचान गरेर सुधार्ने प्रयास गर्नुपर्छ ।’ माओले त्यसो नभनेका भए पनि हाम्रो समाजमा शत्रुको प्रशंसामा रमाउनुलाई स्वभाविक नठान्ने संस्कार स्थापित छ । यिनै माधवकुमार नेपालहरूको प्रशंसा र उक्साहटमा आफ्नै पार्टीको सरकार विस्थापित गराउन मूख्य भूमिका निर्वाह गर्ने चिरञ्जीवी वाग्लेहरू यतिबेला कुन गुफामा विलुप्त भए भन्ने कुरामा सामान्य चासो समेत राखिँदैन ।

राजनीतिमा कठपुतलीहरू कहिल्यै सम्मानित हुन सक्दैनन् । कसैको कठपुतली बनेर आफ्नै राष्ट्रिय हितविपरीत क्रियाशील भएका मिखाइल गोर्वाचोभदेखि लेण्डुप दोर्जीसम्मका पात्रहरूले भोग्नुपरेको नियतिले राजनीतिमा पराया-सेवाप्रति वितृष्णा असीमित रहने दर्शाउँछ । त्रेता युगमा रामबाट मारिएको श्रीलङ्काका राजा रावणको नाम बरु अहिलेसम्म सम्मानपूर्वक लिइँदैछ, रावणको बध गरेर रामद्वारा राजा बनाइएका विभीषणप्रतिको निन्दा र घृणाको सिलसिला अझै टुटेको छैन । रावण गलत नै थिए होलान्, तर आफ्नै भाइबाट उनले धोखा पाउनु हुने थिएन भन्ने पूर्वीय सभ्यताको मान्यता हो । त्यसैले हज्जारौँ वर्षदेखि विभीषण घातको पर्याय बन्दै आएका छन्, मानवको अस्तित्व धर्तिमा रहेसम्म विभीषण सम्मानित हुन सक्ने छैनन् । नेपाली राजनीतिक सन्दर्भमा तुल्सी गिरी र सूर्यबहादुर थापा तथा कमलराज रेग्मी र केशरजङ्ग रायमाझीहरूप्रति सम्मानभाव नरहनुको कारण केलाउँदा पनि मित्रघातसम्म पुगिन्छ । घाती विभीषण हुन् या रासपुटिन, तुल्सी गिरी हुन् या केशरजङ्ग, चिरञ्जीवी हुन् या माधव नेपाल, यी सबै एउटै कित्ताका मानिन्छन् र यिनलाई हेर्ने सामाजिक दृष्टिकोणमा युग-युगसम्म सकारात्मक परिवर्तन आउने विश्वास गर्न सकिँदैन । माधव नेपाल आफैं २०५१ सालका चिरञ्जीवी वाग्लेहरूलाई त्यसताक खुब प्रशंसा गर्नुहुन्थ्यो, यतिबेला वाग्लेहरूलाई देखेर पनि माधव नेपाल चिन्न खोज्नुहुन्न । केही महिना या वर्षभित्रै माधवजीले भोग्ने नियति चिरञ्जीवीहरूको भन्दा शायदै भिन्न हुनेछ !

हो, हामी सबै नेपालीलाई थाहा छ, त्यसबेला चिरञ्जीवी वाग्लेले स्वविवेकीय भन्दा बढी आदेशपालकको भूमिका निर्वाह गर्नुभएको थियो, गणेशमानजीको आदेश मान्नुलाई शायद उहाँले कर्तव्य ठान्नुभएको थियो । छत्तीस भाइ सांसदको अगुवाइ गरी कसैको आदेशमा गरिएको कर्मको फल भोग्दै वाग्ले अहिले कुनै कुनामा निरस जिन्दगी बिताउँदै हुनुहुन्छ । त्यसबेला आफ्नै पार्टीका नेता गिरिजाप्रसाद कोइराला र उनको सरकारविरुद्ध भूमिका निर्वाह गर्दा वाग्लेलाई ‘बहादुर’को विशेषण भिराएर अहोरात्र प्रशंसा गर्नेहरू यतिबेला वाग्लेलाई चिन्दैनन्, चिन्न खोज्दैनन् र उहाँसँग कुनै साइनो र सरोकार राख्न पनि चाहँदैनन् ।

माधव नेपाल देशमा कसैले नगरेको या गर्न नसकेको कार्य सम्पन्न गरेर ‘विषद चर्चा’मा आउनुभएको होइन । २०५३ सालमा आफ्नै पार्टीका नेता शेरबहादुर देउवा नेतृत्वको सरकार विस्थापित गरी राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर गिरिजाप्रसाद कोइरालाले रचेको इतिहासकै पुनरावृत्ति माधवले गराउनुभएको हो । २०६७ सालमा तत्कालिक एमाले अध्यक्ष झलनाथ खनालले ‘बजेट पारित हुन नदिने’ धम्की दिएलगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिएर भाग्ने माधव नेपाललाई साहसी नेताका रूपमा कहिल्यै लिइन्नथ्यो । तर आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्ने साहस जुन उहाँले यसपटक दर्शाउनुभयो, त्यो आफैंमा रहस्य र जिज्ञाशाको विषय बनेको छ । माधव नेपाल यतिबेला पराया-प्रशंसाबाट गद्गद् हुनुहुन्छ । पार्टीबाहिरका पक्षहरूले ‘बहादुर’को संज्ञा दिँदै कृत्रिम प्रशंसाको मायाजालमा पारेर सुमसुम्याइएका उहाँ भविष्यका चिरञ्जिवी वाग्लेभन्दा बढी केही बन्न सक्नुभयो भने त्यो तुल्सी गिरी या केशरजङ्ग रायमाझीसम्म मात्र हो ।

ओली र मोदीबीचको मिलापले नेपालबाट सङ्घीयता, समानुपातिकता र धर्मनिरपेक्षता विस्थापित गराउन सक्ने सम्भावनालाई दृष्टिगत गरी ‘भ्याटिकन’लगायतका पश्चिमा शक्तिहरू नेपालका सबै आफ्ना ‘हितैषी’हरूलाई मोर्चाबद्ध गराएर केपीकाविरुद्ध भिडाउने निष्कर्षमा पुगे । पाँच पूर्वप्रधानमन्त्रीहरूको अप्रत्याशित गठजोड पश्चिमी योजनाकै परिणाम थियो ।

आफैंले स्थापना गरेको र डेढ दशकसम्म एकछत्र कमाण्ड सम्हालेको पार्टीलाई ध्वङ्श गर्न माधव नेपाल जस्ता कायर मानिएका, विचार-दृष्टिकोण र निर्णय क्षमताका दृष्टिले ‘अलिङ्गी’ नेता कसरी आफ्नैविरुद्ध उभिन सक्नुभयो, यो आजको अहम् प्रश्न हो । माधव नेपालले धर्म नछाडेका भए प्रचण्डले खेल्न पाउनुहुने थिएन र, प्रचण्डलाई चलखेल गर्ने अवसर प्राप्त नभएको भए नेपाली राजनीतिको दिशा र दशा अहिले ब्यहोर्नुपरेको भन्दा भिन्न हुन सक्थ्यो ।

वास्तवमा माधव नेपाल केपी ओलीका विरुद्ध मात्र उभिनुभएको होइन र, उहाँका पैर आफ्नै बलबुतामा खडा भए जस्ता पनि देखिँदैनन् । प्रधानमन्त्रीका रूपमा केपी ओलीका प्रयासहरू माओवाद र माओवादीको निर्मूलिकरणतर्फ लक्षित भएको महसूस गरिन्थ्यो । र, प्रचण्डले केपीको अभीष्ट राम्रासँग बुझ्नुभएको उहाँको प्रतिक्रियात्मक ब्यहारले स्पष्ट गर्दथ्यो । केपी र प्रचण्ड एउटै घरमा हुनुहुन्थ्यो, तर उहाँहरूको सम्बन्ध प्रल्हाद र हिरण्यकस्यपुको झैँ विषाक्त थियो । एकीकरणपछि पार्टी अनुशासनमा बाँधिनुभएका प्रचण्ड ‘एमाले’बाट बाहिरिन नसक्ने र पार्टीमा रहिरहन झनै नसकिने अवस्थामा हुनुहुन्थ्यो । माधवकुमार नेपाल र केपी ओलीबीच अन्तरद्वन्द्व पैदा गर्न नसकिन्जेलसम्म प्रचण्ड एकप्रकारले किंकर्तव्यबिमूढ झैँ बन्नुभएको थियो । जब केपीले माधवका इच्छापूर्तिमा सरोकार दर्शाउन छोड्नुभयो, हो त्यहीँबाट प्रचण्डले आफ्नो खेल शुरु गर्नुभयो ।

माधव नेपाललाई अस्त्र बनाएर केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट विस्थापित गर्ने योजनावद्ध प्रयासमा विगत दुई वर्षदेखि निरन्तर लागिपर्नुभएका प्रचण्डलाई केपी ओली यति जब्बर हुनुहोला भन्ने हेक्का सम्भवतः थिएन । माधवको साथ प्राप्त हुँदा केपीलाई मूला उखेलेझैँ सजिलैसँग बाहिर पार्न सकिने विश्वासमा प्रचण्ड हुनुहुन्थ्यो । सत्ताबाट केपीलाई हटाइएको अवस्थामा उहाँलाई साथ दिन बीस प्रतिशत पार्टी केन्द्रीय समितिका सदस्य र सांसदहरू पनि तयार नहुने विश्वास र विश्लेषण प्रचण्डको थियो । तर डेढ वर्षदेखि प्रचण्डका हरेक चाल असफल तुल्याउने सफलता केपीलाई प्राप्त हुँदै गयो । केपी र प्रचण्डबीचको ‘शीतयुद्ध’मा माधव नेपाल जतापट्टि उभिनुहुन्छ, जित सोही पक्षको हुने तथ्य घामजस्तै छर्लङ्ग थियो । तर माधव नेपाल प्रचण्डको पक्षमा उभिँदा पनि सिङ्गो पार्टी आफ्नो काबुमा लिने सामथ्र्य उहाँले देखाउन सक्नुभएन ।

माधव नेपाललाई कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्ष र कहिले दुवै पदीय जिम्मेवारी उपलब्ध गराइने आश्वासन दिएर प्रचण्डले आफ्नो कित्तामा खैँचने सफलता पाए पनि केपीलाई विस्थापित गर्न सम्भव भएन । वर्तमान संवैधानिक व्यवस्था, राज्य संयन्त्र र संसदीय हैसियतलाई उपयोग गर्दै समाजवादमा छलाङ मार्ने रणनीतिक उद्देश्यपूर्तिमा माधवलाई सहमत गराउन र चिनियाँ विदेशमन्त्रीमार्फत चीनसँगको सम्बन्ध सुधार गर्न प्रचण्ड सफल हुनुभएको थियो । संसद्को यही कार्यकालभित्र (एकदलीय) समाजवाद स्थापित गर्न सकेको भए त्यस्तो व्यवस्थाको रक्षाका निम्ति प्रचण्ड-माधवले चीनको गुहार माग्ने निश्चित थियो र, शायद उहाँहरूले त्यस्तो सपना कार्यान्वयनको समय निकट हुँदै गएको महसूस पनि गर्नुभएको हुँदो हो । सर्वोच्च अदालतले नेकपाको स्वामित्व त्यसको वास्तविक मालिकमा निहित (फागुन २३,२०७७) गरिदिएपछि प्रचण्ड र माधवको सहकार्य परिणाम नआउँदै टुङ्गियो । त्यसपछि एमालेलाई आफ्नो काबुमा लिने र पुनः माओवादीसँग पार्टी एकीकरण गरी लक्ष्य भेदन गर्ने मानसिक तयारी र योजनाका साथ एमालेमा फर्किनुभएका माधव नेपालका निम्ति पार्टीमा सहज वातावरण बन्न सकेन । त्यसैले माधव नेपाल बेग्लै पार्टी गठन गरेर प्रचण्डको पार्टीमा समाहित हुने पृष्ठभूमि बनाउँदै हुनुहुन्छ ।

त्रेता युगमा रामबाट मारिएको श्रीलङ्काका राजा रावणको नाम बरु अहिलेसम्म सम्मानपूर्वक लिइँदैछ, रावणको बध गरेर रामद्वारा राजा बनाइएका विभीषणप्रतिको निन्दा र घृणाको सिलसिला अझै टुटेको छैन । रावण गलत नै थिए होलान्, तर आफ्नै भाइबाट उनले धोखा पाउनु हुने थिएन भन्ने पूर्वीय सभ्यताको मान्यता हो । त्यसैले हज्जारौँ वर्षदेखि विभीषण घातको पर्याय बन्दै आएका छन्, मानवको अस्तित्व धर्तिमा रहेसम्म विभीषण सम्मानित हुन सक्ने छैनन् ।

कम्युनिष्ट पार्टीका नेताहरूबीच उत्पन्न अन्तरविरोधप्रति बाह्य शक्तिहरूको दृष्टि केन्द्रीत थियो । २०७७ सालको प्रारम्भसम्म पश्चिमाहरूको साथ प्राप्त गर्न सफल केपी ओलीले भारतको समेत सद्भाव पाउन प्रयास गर्नुभएको थियो । यस क्रममा २०७७ को मध्येतिर केपी आफ्नो उद्देश्यमा सफल हुनुभयो, भारतसँगको सम्बन्धमा माधुर्य थपियो । जब भारतसँग केपीको सम्बन्ध कसिलो हुँदै गयो, तब पश्चिमाहरू झस्किए । नरेन्द्र मोदीसँग नेपाल र नेपालीको सम्बन्ध सुदृढ एवम् सुमधुर बन्दा नेपालको संविधान खतरामा पर्ने बुझाइ पश्चिमाहरूको छ । त्यसैले अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको साथ खोज्ने पश्चिमाहरू नेपालमा भारतको ‘स्वतन्त्र भूमिका’सँग झस्किन्छन् । शताब्दी लामो प्रयास, अर्बौं अर्बको लगानी र अथक कुटनीतिक प्रयासबाट नेपालमा ल्याइएको धर्मनिरपेक्षता, जातीय विभाजन र सङ्घीयतासहितको गणतन्त्रात्मक संविधानको रक्षा गर्नु पश्चिमाहरूको पहिलो प्राथमिकता बनेको छ । ओली र मोदीबीचको मिलापले नेपालबाट सङ्घीयता, समानुपातिकता र धर्मनिरपेक्षता विस्थापित गराउन सक्ने सम्भावनालाई दृष्टिगत गरी ‘भ्याटिकन’लगायतका पश्चिमा शक्तिहरू नेपालका सबै आफ्ना ‘हितैषी’हरूलाई मोर्चाबद्ध गराएर केपीकाविरुद्ध भिडाउने निष्कर्षमा पुगे । पाँच पूर्वप्रधानमन्त्रीहरूको अप्रत्याशित गठजोड पश्चिमी योजनाकै परिणाम थियो । केपी ओली भारतसँगको सम्बन्ध कसिलो बनाउन सफल हुँदा इसाइ मुलुकहरूको साथ उहाँले गुमाउनुभयो ।

पाँच पूर्वप्रधानमन्त्रीहरूमध्ये पाँचै जना इसाइमैत्री मानिनुहुन्छ र, नेपाललाई धर्मसापेक्ष मुलुक बनाइने कुराको सख्त विरुद्ध हुनुहुन्छ । नेपाललाई गैह्रजातीय, एकतावद्ध हिन्दूराष्ट्रमा रूपान्तरित हुन नदिन सृष्टि गरिएको पाँच पूर्वप्रधानमन्त्रीहरूको मोर्चामा माधव नेपाल निर्णायक हुनुहुन्थ्यो । माधवले खुट्टा छोडेको अवस्थामा पश्चिमाहरू आफ्नो अभीष्ट पूरा गर्न असमर्थ हुने निश्चित थियो । एकातिर चार पूर्वप्रधानन्यायाधीशहरूमार्फत न्यायिक क्षेत्रलाई नियन्त्रणमा राख्ने गृहकार्य भइरहेको थियो भने अर्कोतर्फ पूर्वप्रधानमन्त्रीको मोर्चा राजनीतिक योजनामा केन्द्रित देखिन्थ्यो । संसद् पुनस्र्थापनापश्चात प्रधानमन्त्री पदबाट केपी ओलीको मूक्ति निश्चित भइदिएको भए न्यायिक क्षेत्र नाङ्गिने तहको फैसला गराउने बाध्यता पश्चिमाहरूलाई शायद आइपर्ने थिएन । एमालेमा एकताको सम्भावना बढेको र ११६ एमालेका सांसद एक ठाउँमा उभिँदा पनि महन्थ ठाकुर पक्षका सांसदहरूको साथ लिएर केपी नै पुनः प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिएपछि पश्चिमा रणनीति बदलियो, गैह्रराजनीतिक निकायलाई राजनीतिक भूमिका निर्वाह गर्ने ठाउँमा पुऱ्याइयो र, सिङ्गै पृथ्वी हाँस्ने स्तरको उर्दी जारी गराइयो । झट्ट हेर्दा केपीलाई विस्थापित गर्ने निर्णय न्यायिक प्रतीत भए पनि यो एक प्रकारको ‘कू’ नै हो । न्यायिक क्षेत्रबाट पनि जननिर्वाचित सरकार अपदस्थ हुन सक्छ भन्ने विश्व-दृष्टान्त नेपालमा स्थापित भएको छ । नेपालको अखण्डता, जातीय एकता, सामाजिक सद्भाव, मौलिक धर्म-संस्कृति र यसको गौरवमय इतिहासप्रति वैरभाव राख्नेहरूको कपटी प्रयासमा राष्ट्रवादी शक्तिहरूलाई रक्षात्मक स्थितिमा पुऱ्याउने कार्य सम्पन्न भएको छ र, यस प्रक्रियाको शिखण्डी भूमिका माधव नेपालले निर्वाह गर्नुभएको छ । करिव तीन दशकदेखिको इसाइसम्बन्ध र कथित होलिवाइन पिउँदै देश-देशाटन गर्नुको रहस्य पनि अब सबै नेपालीका सामु खुलेको छ ।

झट्ट हेर्दा केपीलाई विस्थापित गर्ने निर्णय न्यायिक प्रतीत भए पनि यो एक प्रकारको ‘कू’ नै हो । न्यायिक क्षेत्रबाट पनि जननिर्वाचित सरकार अपदस्थ हुन सक्छ भन्ने विश्व-दृष्टान्त नेपालमा स्थापित भएको छ । नेपालको अखण्डता, जातीय एकता, सामाजिक सद्भाव, मौलिक धर्म-संस्कृति र यसको गौरवमय इतिहासप्रति वैरभाव राख्नेहरूको कपटी प्रयासमा राष्ट्रवादी शक्तिहरूलाई रक्षात्मक स्थितिमा पुऱ्याउने कार्य सम्पन्न भएको छ र, यस प्रक्रियाको शिखण्डी भूमिका माधव नेपालले निर्वाह गर्नुभएको छ ।

विभीषणहरूको बहादुरी पराया-खुशीका निम्ति प्रयोग-उपयोग हुने हो । माधवकुमार नेपालले पनि बहादुरीपूर्वक आफ्नाको ‘बध’ गरेर परायाशक्तिलाई खुशी तुल्याउने कार्य सम्पन्न गर्नुभएको छ । उहाँकै कारण बहुदलीय प्रजातन्त्रको मौलिक मान्यता क्षतविक्षत भएको छ । कार्यपालिका र व्यवस्थापिकामाथि न्यायपालिकाको राज चल्ने अप्राकृतिक अभ्यासको थालनी हुन पुगेको छ । माधवको साथ नरहेको भए कार्यपालिका र व्यवस्थापिकाको राज चल्न असम्भव थियो । अब कुनै दलविशेषको सदस्यता लिनुको अर्थ खोज्नुपर्ने अवस्था पैदा भएको छ । कुनै दलले आफ्नो तर्फबाट टिकट उपलब्ध गराएर कसैलाई उम्मेदवार किन बनाउनु ? मतदाताले सिद्धान्त, विचार, दर्शन, नीति र कार्यक्रम हेरेर कुनै दलविशेषलाई किन रोज्नु ? राजनीतिक दलहरूले आफ्ना सांसदहरूलाई ह्वीप लगाउन सक्ने कानून किन बनाउनु ? अर्बौं रुपैयाँ खर्च गरेर निर्वाचन गराउने र कसैलाई सत्ता र कसैलाई विपक्षी भूमिकामा रहने कानूनी एवम् संवैधानिक व्यवस्था किन गर्नु ? विधि, पद्धति र पार्टी अनुशासनका कुरा किन गर्नु र, यो भन्दा पनि गम्भीर प्रश्न- राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता महङ्गा निकायहरू खडा गरेर देशको खर्च किन बढाउनु ? जब अदालतले नै सबैको जिम्मेवारी लिने हो भने अन्य निकायहरू पाल्नुको अर्थ रहने छैन ।

देशलाई यस्तो अवस्थामा पुऱ्याउन धेरै थरि व्यक्ति र शक्तिको भूमिका भए पनि माधव नेपालबिना तिनको सपना योजना पूरा हुन सम्भव थिएन । यसर्थमा माधव नेपाल ‘बहादुर’ बन्नुभएको छ, तर उहाँको बहादुरीले बर्बादी बाहेक थप कुनै उपलब्धि गराएछ भने त्यसलाई अपवादका रूपमा बुझ्नुपर्ने हुन्छ, जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.