काठमाडौं, असोज २७ : नेपालीहरुको महान चाड दसैंको रमझममा देशभरका देवीका मन्दिर र शक्ति पीठमा भक्तजनहरुको घुँइचो लागेको छ । बुधबार देखि मन्दिरमा भक्तजनको भिड लाग्न सुरु भएको छ ।
आफ्नो मनोकाक्षा पूरा होस भन्ने सोचले भक्तजन देवी तथा शक्ति पीठको पूजा अर्चनामा लागेको पाइन्छ । उपत्यकामा रहेका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल , शोभा भवती, दक्षिणकाली लगाएतका देवीका मन्दिर तथा शक्ति पीठमा दर्शनार्थीको भिड लागेको छ ।
यसै गरी काभ्रेको कालिन्चोक देवी, आखलढुंगाको पाथीभारा माई, गोर्खामा रहेको गोरखकाली, मनकामना, पोखराको विन्ध्यावासिनी, स्याङ्जाको आलम देवी, नवलपरासीको दाउन्ने देवी, अर्घाखाँचीको सुपादेउराली, छत्रदेवालय, गुल्मीको धागीथुम देवी, अर्जुन डाँडामा रहेको देवी, जोगीथुम देवी, तमघास स्थान संयुक्त गुठीमा रहेको देवी मन्दिर लगाएत विभिन्न ठाँउका मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको छ । घटस्थापनामा राखिएका जमरामा दैनीक शुद्ध जल हाल्ने गरिएको छ ।
नेपाल भाषामा मोहनीका नामले उच्चरण गरिने दसैंलाई हिन्दी भाषामा नवरात्री भन्ने गरिन्छ । वर्ष भरका सबै चाडको आ–आफ्नै मौलिकता भएपनि सबै भन्दा धुमधामसँग मनाइने चाड दसैं हो । दसैंमा भक्तजनले शक्तिको उपसना गर्ने पनि चलन रहेको छ । शक्ति स्वरुपा देवीको पूजा गर्नाले परिवारमा सुखी र समृद्धी प्राप्त हुने जुन विश्वास छ ।
भगवान रामले रावणलाई पराजित गरेको कारणले असत्य माथि सत्यको विजय भएको भन्दै यो पर्वलाई विजया दसमी भनिएको हो । भगवान रामले नौ दिनसम्म विभिन्न नौ देवीको उपसना गरी दसौं दिन रावणलाई पराजित गरेको खुसियालिमा दसैं मनाउन थालिएको किम्बदन्ती छ ।