विभागको पहलपछि अध्यागमनले दियो कुवेत उड्न अनुमति

| 2023 Jul 19 | 03:23 pm 1337

काठमाडौँ, साउन ३ । वैदेशिक रोजगार विभागको पहलमा अध्यागमन कार्यालयले अनुमति दिएपछि नेपाली श्रमिकहरू कुवेत उड्न थालेका छन् ।

केहि दिन अघि कागजात शंकास्पद रहेको भन्दै त्रिभुवन विमानस्थलस्थित अध्यागमनले ११७ जना श्रमिकलाई प्रस्थान अनुमति दिएको थिएन । त्यसपछि वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिनका लागि पत्राचार गरेपछि अध्यागमन विभागले आफू मातहतको अध्यागमन कार्यालयलाई सहजीकरण गर्न र प्रस्थान अनुमति दिन भनेको थियो ।

गत असार २७ र २८ गते अध्यागमनले कागजात शङ्कास्पद देखिएको, ढिला पुगेको कारण देखाउँदै रोकेको थियो । विनाकारण अध्यागमनले श्रमिकहरूलाई रोकेको भन्दै म्यानपावर व्यवसायीहरू आन्दोलित बनेका थिए । उनीहरूले अध्यागमनका महानिर्देशकको राजीनामा मागेर कार्यालयमा प्रदर्शन समेत गरेका थिए ।

त्यसपछि यो विषयमा अध्यागमनले विभिन्न चार सर्त पुरा गरेको खण्डमा प्रस्थान अनुमति दिने बताएको थियो । अध्यागमनको विज्ञप्तिपछि वैदेशिक रोजगार विभागले समेत आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाएको थियो ।

विद्यमान कानुन अनुसार श्रम स्वीकृति लिएर गएका श्रमिकहरूलाई रोक्ने अधिकार अध्यागमनलाई नभएको विभागले प्रस्ट पारेको थियो । सोही आधारमा अध्यागमनले अर्को विज्ञप्ति जारी गर्दै ऐन, कानुन पालना गर्न प्रतिबद्ध रहेको जनाएको थियो । वैदेशिक रोजगार विभागको क्षेत्राधिकारभित्र प्रवेश गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.