विप्लव प्रति प्रहरीको खरो एक्सन

रिपोर्ट नेपाल | 2019 Oct 22 | 09:25 am 1358

काठमाडौं, कात्तिक ५: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ ।

प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उच्चस्रोतका अनुसार त्यसको केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक दाङ तथा रोल्पा आसपासको सीमामा बसेको थियो । जहाँ विप्लवसहित २८ जना केन्द्रीय नेताहरू सहभागी थिए । तर, त्यसपछि दाङमा बसेको राप्ती ब्युरोको बैठकमा भने विप्लव सहभागी थिएनन् ।

केन्द्रीय समिति बैठकमा सहभागी भएका विप्लव राप्ती ब्युरोको बैठकमा समेत सहभागी हुने सूचना प्रहरीले पाएको थियो । तर, ब्युरोको कार्यक्रममा भने विप्लव सहभागी हुने तय भएको थिएन । प्रहरीले सो कार्यक्रमबाट विप्लवलाई नै पक्राउ गर्ने रणनीति बनाएको थियो । तर, कार्यक्रममा सहभागी नभएका कारण विप्लव प्रहरी टार्गेटमा परेनन् ।

प्रहरीको विशेष संयन्त्रले विप्लव नेता कार्यकर्ताले दाङ तथा रोल्पा आसपासमा ‘जनयुद्ध’को पुरानै बाटो प्रयोग गर्दै आएको सूचना पाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.