चितवन, साउन २६: विप्लव नेतृत्वको नेकपाले राजनीतिकभन्दा पनि आतंक मच्चाउने हिसाबले गतिविधि गरेको पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताएका छन्।
‘सरकार वार्ताका लागि तयार छ तर वार्ताको लागि अर्को पक्ष पनि तयार हुनुपर्यो नि’, प्रचण्डले भने, ‘विप्लव नेतृत्वको पार्टीप्रति सरकार आक्रामक भएको भन्ने कुरामा सत्यता छैन।’
वामपन्थीहरुकै सरकार भएकाले विप्लव समूहसँग सम्वाद, सहमति र एकता साथ जान सकिने बताउँदै उनले भने, ‘तर वितण्डातिर लाग्नु भएन, वितण्डा मच्चाएर केही हुन्छ कि भनेर सोच्नु अज्ञानता हो ।’
अर्थमन्त्री परिवर्तन गर्ने विषयमा चलेको चर्चामा सत्यता नभएको पनि अध्यक्ष प्रचण्डले प्रष्ट पारे । करका कारण जनताको छाएको चिन्तामा सरकार गम्भीर रहेको भन्दै उनले त्यसमा समीक्षा हुने बताए।
करका कारणले संघीयता धरापमा पर्यो भनेर प्रचण्डले बोल्यो भनी गरिएको प्रचारमा सत्यता नभएको पनि उनले प्रष्ट पारे। कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकारले राम्रोसँग काम गर्न नसकेको अध्यक्ष प्रचण्डको भनाइ छ।
भारत र चीन भ्रमणका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘भ्रमणको उद्देश्य देशको विकास र समृद्धिका लागि नै उचित प्रकारको वातावरण र सम्वन्ध बनाउने छ।’
प्रचण्डले सरकारका पछिल्ला क्रियाकलापका बारे समीक्षा सुरु भइसकेको समेत बताएका छन्। गृह जिल्ला चितवन पुगेका प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै कही कतै कमी भएको छ भने समीक्षा गर्न पार्टी र सरकार तयार रहेको बताए।
कतिपय घटनामा सरकार मुकदर्शक भएको टिप्पणी भइरहेको भन्दै उनले त्यो गलत भएको दाबी गरे ।‘पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुरा साँचो होइन,’ प्रचण्डले भने, ‘यी सबै घटनाक्रमहरु नियन्त्रणमा छन् । सरकार दृढताका साथ अघि बढेको छ । विकास र समृद्धिको एजेण्डा र सुशासनका निम्ति प्रयास भइरहेको छ ।’