फेला पर्‍यो सैन्य शिविर, भेटिए सेना र सशस्त्रका आधुनिक हतियार

| 2019 Mar 07 | 05:37 pm 2113

कपिलवस्तु, फागुन २३ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ को घर रहेको कपिलवस्तु शिवराज नगरपालिका–९ मा सैन्य शिविर पत्ता लगाएको छ । बिहीबार प्रहरीले ९ घण्टा लामो सर्च अप्रेसन चलाई विप्लवको सैन्य शिविर फेला पर्नुका साथै ठूलो संख्यामा हात हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु प्रहरीका अनुसार जङ्गल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको थियो । कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनी आफैं खटिएको यो टोलीले विप्लवको घर तथा गाउँ आफ्नो नियन्त्रणमा लिएर छापा मारेको थियो ।

५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीका अनुसार छापा मार्ने क्रममा आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद भएका छन् । प्रहरीले विप्लवको गाउँमा अपरेसन गर्ने क्रममा शिवराज नगरपालिका–९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरिएको छ ।

रोकाको घरबाट एसएमजी दुई थान, गोली ६८ राउण्ड, म्यागजीन ३ थान, अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद भएको कपिलवस्तु प्रहरीका उपरीक्षक पुडासैनीले जानकारी दिएका छन् । एसएमजी नेपाली सेना र सशस्त्र प्रहरीले बोक्ने आधुनिक स्वचालित हतियार हो ।

एक प्रहरी अधिकारी भन्छन–शिवगढी गाउँ द्वन्द्वकालदेखि नै प्रहरीको निशानामा थियो, अहिले विप्लवले आफ्ना भूमिगत गतिविधिहरु सञ्चालन गर्नका लागि यो ठाउँ प्रयोग गरेको भन्ने सूचना थियो, त्यही सूचनाका आधारमा हामीले सर्च अभियान चलाएका हौं।’

हतियारसहित फेला पारेपछि रोकालाई पक्रन खोजिएको थियो । तर, उनी भागेपछि नियन्त्रण लिन प्रहरीले गोली चलाएको पुँडासैनी बताउँछन् । पक्राउ परेका रोका विप्लव माओवादीको कुन तहका नेता–कार्यकर्ता हुन्, खुलिनसकेको प्रहरी उपरीक्षक पुडासैनी बताउँछन् । प्रहरीले उनी कम्पनी कमाण्डर हुन सक्ने आशंका गरेको छ । आधुनिक हतियारसहित पक्राउ परेकाले रोका युद्ध प्रशिक्षणमा क्रियाशील हुनसक्ने प्रहरीको आशंका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.