विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाले गराइन् विश्व समुदायको ध्यानाकर्षण

| 2024 Sep 24 | 11:57 am 393

न्युयोर्क ।

आश्विन ०८ / परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको महासभामा हमास समूहको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् ।

उनले विपिन जोशीको स्वागतका लागि नेपाल र नेपाली व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायसँग सहयोगको आग्रह गरिन् । महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री राणाले असंलग्न राष्ट्रहरुको सङ्गठन (नाम)को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् ।

नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री राणाले उल्लेख गरिन् । सम्बोधनका क्रममा मन्त्री राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औँल्याइन् ।

विभिन्न बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

उनले अहिले पनि विश्वका देशहरुमा निरन्तर जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको उल्लेख गरिन् ।

मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरिन्।

मन्त्री डा राणाले नेपाल असंलग्न अभियानको एक प्रतिवद्ध सदस्य राष्ट्र रहेकाले सबै देशहरुबीच शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गरी अघि बढ्ने धारणा राख्दै शान्ति र सहअस्तित्वका लागि एक हुन विश्व समुदायलाई अपिल गरिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.