काठमाडौँ, १ माघ / परराष्ट्रमन्त्री आरजु राणाले विपीन जोशी रिहाइको पहलका लागि आज कतारका विदेशमन्त्रीसँग टेलिफोनमार्फत् कुरा गरेकी छिन ।
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहको नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा.राणाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहेकी छिन्।
हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि यसअघि पनि परराष्ट्र मन्त्री राणाले कतार, इजिप्ट र इजरालका राजदूतहरुसँग कुरा गरिसकेकी छिन ।
परराष्ट्रमन्त्री राणाले हिजो संसदीय समितिमा विपीन रिहा हुने आशा व्यक्त गरेकी थिइन् । सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।
बन्धकको रिहाइ र गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति कतारले पहल गर्दै आएको छ । हमास र इजरायल दुवैसँग कतारको राम्रो सम्बन्ध छ ।