काठमाडौँ, कात्तिक १० : प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान संशोधन सबैको सल्लाह र सुझावलाई समेटेरै गर्ने बताएका छन् ।
दीपावली तथा छठको अवसर पारेर नेपाली कांग्रेस टोखा नगरपालिकाका ८, ९, १० र ११ वडाले आज शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा नेता सिंहले समयअनुसार सबैलाई समेट्नेगरी विधान संशोधन गर्ने बताए। सिङ्गो जनतालाई बेवास्था गरेर कुनै नेताका व्यक्ति अट्ने गरी विधान संशोधन गर्न हुँदैन भन्ने नेता सिंहको ठम्याई रहेको थियो ।
पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको कांग्रेस प्रजातान्त्रिक तरिकाले चल्न नसकेको पनि आरोप लगाए । पार्टी विधि, विधानअनुसार चल्न सकेको छैन, विधानअनुसार पार्टी चल्न नसक्दा कमजोर भएको उनले बताए ।
नेता अर्जुनरसिंह केसीले अधिनायकवादी प्रवृत्तिले कांग्रेस चल्न नसक्ने बताए । “नेता होइन नीति, व्यक्ति होइन विचार कांग्रेसभित्र आवश्यक रहेको उनले जिकिर गरे ।
काठमाडौँका कांग्रेस सभापति सबुज बानियाँले काठमाडौँको कांग्रेसमा संगठन बलियो बनाउनका लागि आफू दिनरात लागिपरेको बताए । काङ्ग्रेस अहिले लथालिङ्ग अवस्थामा पुगेको भन्दै यसलाई एकढिक्का बनाउनका लागि नेता लाग्नुपर्ने विचार राखे ।
अर्का नेता तथा प्रदेश सांसद जीवन डङ्गोलले पार्टीले युवामुखी कार्यक्रममा जोड दिएमात्र आगामी दिनमा राम्रो जित हासिल गर्नसकिने बताए । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्टीभित्र प्रशिक्षणको खाँचो रहेको कुरा औँल्याएका छन्।
टोखा नगरपालिका– १० का अध्यक्ष तेजप्रसाद सेडाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काठमाडौँ कांग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, काठमाडौँ महानगरपालिका– २६ का अध्यक्ष ख्यामराज तिवारी, कांग्रेस टोखा नगरपालिका अध्यक्ष वसन्त श्रेष्ठ, टोखा नगरपालिका– ११ का वडाअध्यक्ष उत्तम अधिकारीलगायतले पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरी सुधारको बाटोमा अगाडि बढ्नुपर्ने कुरामा सुझाव दिए।